सोती घटनाको दुई वर्ष : जातको सत्ताले बगाएको त्यो प्रेम
फाइल तस्वीर

प्रेम न हो, न उमेर हेर्छ न त जात नै, न रुप हेर्छ न त रंग नै ।

तर, जातले भने प्रेम देखेपछि जाजरकोटका २१ वर्षीय प्रेमी नवराज विकले आफ्नो जानै गुमाउनुपर्‍यो । प्रेमी मात्र होइन, नवराज र उनकी प्रेमिका बीचको सम्बन्ध प्रगाढ बनाउन लागेको अन्य ६ जनाले समेत ज्यान गुमाए । १२ जना गम्भीर घाइते भए ।

निकै माया गर्थिन् कमला(नाम परिवर्तन), नवराजलाई ।

मानव समुदायमा कैयौँ यस्ता जोडी छन्, जसले आफ्नो प्रेमसम्बन्ध सधै लुकाउन चाहन्छन् । भित्र–भित्र सल्बलाउने प्रेमकहानीबारे न कसैले भनक पाउछन् । न त सुइँको नै ।

तर, नवराज र कमलाको जोडी भने फरक थियो । यो जोडीले आफ्नो प्रेमकथा कहिल्यै लुकाउन चाहेन । करिव एक वर्षको प्रेमयात्रामा उनीहरू एक–अर्काका आफन्तलाई नाता लगाउने भइसकेका थिए । आफन्तलाई सम्मान गर्थे, प्रेमको सम्बन्ध गाँस्दै नाता लगाउँथे, ढोकभेट चल्थ्यो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चल्दै थियो, त्यहीँ हो कमलाले पहिलोपटक नवराजलाई भेटेको ।



०७५ सालको कुरा हो, रूकुम पश्चिम चौरजहारी नगरपालिका–८ निवासी कमला भित्रुवन उच्च माध्यमिक विद्यालय, जाजरकोटमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पुगेकी थिइन् । दर्शकदिर्घामा रहेका समय नवराजलाई नियाल्नपुगिन् । उसो त, नवराज राम्रो खेलाडीमा रूपमा पनि परिचित थिए ।

टेलिफोन नम्बर साटासाट भयो, कुराकानी बाक्लिन थाले, फेसबुकमा पनि जोडिए । र, प्रेम बस्यो ।



कति सजिलै बसेको थियो प्रेम, दुवैले पत्तो पाएनन् ।

प्रेमले आफ्नो जालो बुन्दै थियो, एकआपसको घरमा आउने–जाने तथा सँगै बस्नेसमेत सुरु भइसकेको ।

केही महिनामै एकअर्काको घरपरिवार र आफन्तलाई चिनाउन सुरु पनि भयो । नाता लगाउँदै बोल्न थालियो । २१ वर्षीय युवक र १७ वर्षीय युवतीको प्रेमकथामा सबै राम्रै चल्दै थियो ।

तर, यो प्रेम कथा भित्रको चिसो पक्ष पनि त्यत्तिकै मौलाउँदै थियो, त्यो हो जातीय छुवाछुत ।

समाज र आफन्तले जातीय विषयलाई लिएर यो जोडीलाई एक हुन नदिने विषयमा दुवै प्रेमीले नसोचेका भने होइनन् । प्रेमकहानी अभिभावकसामु पुग्न समय नै लागेन ।

केटी पक्षका अभिभावक निकै चिन्तामा थिए । दलित समुदायको केटासँग छोरीले प्रेम गाँसेकोमा उनीहरू सन्तोष भने थिएनन् । एकातिर छोरीको चाहना, अर्कोतिर सामाजिक तिरस्कारको डरले केटीका अभिभावकलाई कहिल्यै छोडेन ।

छोरीलाई सम्झाए, उनीहरूले । बुझाउने प्रयास गरे । समाजले नवराजसँगको सम्बन्ध स्वीकार्न नसक्ने जनाए । तर, पनि कमलाले मानिनन्, उल्टै अभिभावकलाई सम्झाउँथिन्, ‘यो जमानामा पनि जात–भात हुन्छ र ?’

...

कमला अध्ययनका लागि चौरजहारीमा डेरा लिएर बस्थिन् । यी दुईबीचको प्रेम यही समयमा अलि बढी नै फक्रिन थालेको हो ।

जाजरकोटको सदरमुकाममा मेला लागेको थियो । कमला मेला हेर्न पुगिन्, नवराज पनि ।

मेलापछि नवराजले कमलालाई आफ्नो घर लिए । करिव चार दिनसम्म नवराजको घरमा कमला बसिन् ।

विभिन्न समयमा करिव सात दिनसम्म कमला नवराजको घरमा बसिन् । सामाजिक रूपमा वैवाहिक बन्धनमा नबाँधिए पनि यो जोडी आफूलाई सातौं जुनी भरका लागि सोच्न थालिसकेको थियो ।

नवराजका बुवा-आमा डराउन थाले । आफूहरू दलित र केटी पक्ष मल्ल ठकुरी, यो नै नवराजका बुवा-आमाको मनमा डर जगाउने विषय बन्यो । यसबारे केटा–केटीलाई उनीहरूले नभनेका पनि होइनन्, ‘हामी दलित जाति र तिमीहरू मल्ल ठकुरी । पछि समस्या पर्नसक्छ । फेरि नानीको उमेर पनि पुगेको छैन ।’

केटाका बुवा–आमालाई पनि कमला नै सम्झाउँथिन्, ‘जातीय विभेद तथा छुवाछुतको अन्त्य भइसकेको छ । अझै यस्ता कुरामा विश्वास गर्नुहुन्छ ?’

नवराज र कमलाको प्रेमसम्बन्ध अझै गहिरिँदै थियो ।

...

कमलालाई भेट्न जाँदा नवराज प्रहरीको हिरासतमा समेत पुग्नुपरेको घटना पनि छ ।

आफ्ना तीन जना साथीसहित नवराज कमलालाई भेट्न उनको गाउँ पुगेका थिए । सो समयमा कमलाका परिवारले नवराजलगायतका युवालाई समातेर प्रहरीकोमा पुर्‍याएका थिए ।

०७६ चैत्र १७ गते कमलाका गाउँका वडाध्यक्षले नवराजसहितलाई प्रहरीको जिम्मा लगाए । छोराको प्रेमकहानीको साक्षी बन्दै भोलिपल्ट उनकी आमाले प्रहरीबाट छुटाएर घर ल्याइन् । प्रहरीले सम्झाइबुझाइ नवराजलाई घर पठायो ।

...

सबैतिर हल्ला थियो । कमलालाई नवराजबाट छुटाउन सक्नेबारे उनका अभिभावकले सोच्न पनि छोडिसकेका थिए । कमलाका अभिभावक र समाज यी दुई जोडीको प्रेमसम्बन्धका विरुद्ध नै थिए ।

दुई प्रेमीको कहानीको अन्त्य, कमलाको बिहे गरिदिने निचोड निस्कियो । कमलालाई नवराजसँगको साटो अन्तै, अर्कै केटासँग बिहे गरिदिएपछि यो विषयको अन्त्य हुने उनका अभिभावकले सोचे । कमलालाई पनि फकाउन थालियो । प्रलोभन दिइयो, आवश्यक ठाउँमा हप्काइयो पनि ।

०७७ साल जेठ ७ गते कमलाले नवराजलाई खबर गरिन् । आफूलाई अर्कैसँग बिहे गरेर पठाउने तयारी थालिएको नवराजलाई सन्देश पुर्‍याइन् । नवराज पनि यस विषयमा निकै चिन्तामा परे ।

सोही दिन नै साँझ साथीहरूको दलबलसहित नवराज कमलाको गाउँ पसे । कमलाले पनि पनि केटाहरू लिएर आउनु भनेकी थिइन् (केटा पक्षले यस आरोप लगाए पनि कमलाले नवराजलाई बोलाएको भन्ने पुष्टि भइसकेको छैन) ।

नवराजसहित १९ जना युवाको समूह कमलाको घरभन्दा करिव पाँच सय मिटर नजिक पुग्यो । यो समूहबाट एक जना साथी सोही समयमा फर्किए ।

नवराजसहितको समूहलाई घरमूनिको बाटोमा देखेपछि कमलाकी आमाले ‘ए डुम त फेरि आइस्, अझै पुगेन’ भन्दै गालीगलौज गर्न थालिन् । यिनीहरूलाई मार्नुपर्छ, सुध्याउनुपर्छ भन्दै उनले फोन गर्न थालिन् ।

वडाअध्यक्षलाई गाउँले सबैलाई बोलाउन उनले फोन गरेको देखेर केटाहरू त्यहाँबाट सरासर हिँडे । कमलाकी आमा एकसुरे गाली गरिरहेकी थिइन् । अवस्था बिग्रिँदै थियो ।

केटीपक्षले कमला र नवराजबीचको प्रेमसम्बन्धलाई कहिल्यै स्वीकारेका थिएनन् ।

कमलाको घर छेउबाट नवराजहरू हिँडेको करिव ४५ मिनेटपछि गाउँलेले उनीहरूलाई घेरा हालिसकेका थिए । मध्यपहाडी लोकमार्गको पुग्दै गर्दा गाउँलेले नवराजको समूहलाई घेरा हाल्दै आक्रमण गर्न थाले । घरेलु हतियारसहित आएका गाउँलेले हँसिया, लाठीलगायत बाटोमा रहेका ढुंगा प्रयोग गर्दै नवराजको समूहमाथि कुटपिट गर्न थाले ।

चौरजहारी नगरपालिका–८, सोतीमा भएको यो घटनामा ६ जना युवाको ज्यान गयो, १२ जना युवा गम्भीर घाइते भए ।

कानबाट रगत बगेको, आँखा बाहिर निस्किएको, घाँटी भाँचिएको र दाँत झरेको अवस्थामा घटना भएकै दिन ७:१५ बजे नवराजको लाश प्रहरीले फेला पार्‍यो ।

(सोती घटनाबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिद्वारा स्थलगत अध्ययनपछि तयार प्रतिवेदनको सम्पादित अंश)

  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार २०:५१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया