सहिद परिवारलाई वार्षिक २५ हजार निर्वाह खर्च दिने पुर्चौडीका नवनिर्वाचित जनप्रतिनिधिकाे निर्णय

बैतडीको पुर्चाेडी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख दीपकबहादुर बम र उपप्रमुख मीना धानुकले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै केही  निर्णय पनि गरिएका छन् । 

पुर्चौडी नगरपालिकाले प्रमाणीकरण सूचीमा रहेका सहिद परिवारहरुलाई सम्मान स्वरुप प्रतिपरिवारलाई वार्षिक एकमुस्ट २५ हजारका दरले निर्वाह खर्च उपलब्ध गराउने र जनयुद्धका घाइतेहरूका लागि निःशुल्क उपचार हुनेगरी स्वास्थ्य बिमा गर्ने निर्णय गरिएको छ । 

यसैगरी नगरपालिकाले पालिकाको केन्द्रमा रहेको पुर्चाेडी हाट स्वास्थ्यचौकीबाट आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना १ साउनदेखि नै एक्सरे तथा भिडियो एक्सरेसहितको चिकित्सकीय सेवा सुचारु गर्ने निर्णय पनि गरिएको छ । यसैगरी ज्येष्ठ नागरीक तथा दिर्घ रोगीहरुको निशुल्क स्वास्थ्य परीक्षण र उपचारका लागि गाउँघरमै चिकित्सक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ । 

यसैगरी नगरपालिका भित्र सञ्चालित विद्यालयहरूमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई अध्ययन निशुल्क गर्न विद्यार्थीहरूको भर्ना तथा पठनपाठन शुल्कबापतको रकम शाेधभर्ना गर्ने निर्णय पनि भएको छ । 

पुर्चौडी नगरपालिकाका १० वटै वडाहरूमा विद्युत् विस्तार कार्य प्रारम्भ गरी दुई वर्षभित्रमा उज्यालो पुर्चाेडी घोषणा गर्ने निर्णय पनि गरिएको छ । 
पुर्चौडी नगरपालिकाले जनयुद्धका बेला सहिद परिवारलाई वार्षिक २५ हजार रुपैयाँ निर्वाह भत्ता दिने निर्णय भएको छ । नगर प्रमुख दीपकबहादुर बमले पदभार ग्रहण गर्दै पहिलो निर्णयको रुपमा सो निर्णय गरिएको हो । 

नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखले पदभार ग्रहण गरेसँगै निवर्तमान नगर प्रमुख रण बहादुर कुवँर र उपप्रमुख जानकी ऐर बमको बिदाई पनि गरिएको छ ।





  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १५:१२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया