ताराको दुर्घटनाबारे विज्ञको राय : एयरक्राफ्ट बुढो भन्नु सान्दर्भिक हुँदैन, पाइलटले इनरुटमा मौसमलाई म्यानेज गर्न सक्नुभएन
फाइल तस्वीर

गत १५ जेठमा कास्कीको पोखराबाट मुस्ताङको जोमसोम उडान गरेको तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान दुर्घटना भयो । मुस्ताङको थासाङ गाउँपालिका-२, सानुसरे पहाडमा विमान दुर्घटनाग्रस्त भएको थियो । जसमा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली, ४ भारतीय र २ जर्मन नागरिकको निधन भयो ।

दुर्घटनामा निधन भएकाको शव पोस्टमार्टम गरेर  बिहीबार परिवारलाई जिम्मा लगाइएको छ । घटना अझै सेलाएको छैन । हरेक नेपालीहरु शोकमग्न र त्रसित छन् । अहिले नेपालमा रहेको प्रिमनसुनका कारण पनि हवाई यात्रा गर्न आनाकानी गर्ने अवस्था सिर्जना भएको छ ।

लगभग अबको दुई महिना नेपालमा प्रिमनसुन रहनाले हवाई यात्रामा कठिन हुने निश्चित छ । त्यसो त नेपालको मौसम अन्य सिजनमा पनि फरक फरक हुनसक्छ । नेपाल हिमाल, पहाड र तराईका क्षेत्रमा बाँडिएकाले पनि मौसम यस्तै भइहाल्छ भन्न सकिहाल्ने अवस्था छैन । मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटना आलो र प्रतिकात्मक दुर्घटना हो ।

यसअघि पनि धेरै विमानहरु प्रतिकुल मौसमका कारण दुर्घटना भएका छन् । यद्यपी जोमसोमका लागि उडेको तारा एयरको विमान प्रतिकुल मौसमका कारण नै भएको हो भन्ने अनुमान मात्रै छ, यो अनुसन्धान पछि आएको आधिकारिक जानकारी भने होइन । सरकारले घटनाको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन समिति बनाएको छ ।

अबको केही दिनमा नै छानबिन समितिले यसबारेमा जानकारी गराउने नै छ । जोमसोम उडान भरेको तारा एयरको विमान दुर्घटनालाई लिएर विज्ञहरुले विभिन्न तर्कहरु अघि सारेका छन् । कसैले खराब मौसम त कसैले पुरानो विमानलाई दुर्घटनाको कारण पहिल्याएका छन् ।

तर वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापा पुरानो विमानका कारण दुर्घटना हुन नसक्ने बताउँछन् । उनले पुरानो विमानका कारण दुर्घटना नहुने र विमान पुरानो अर्थात् उड्ने समय सकिएपछि चल्दै नचल्ने अवस्थामा पुग्ने बताए ।



उनले भने, ‘नेपाल सरकारले यो दुर्घटना भएपश्चात् नलेजेवल टिम जाँचबुझका लागि बनाएको छ । वस्तुगत रुपमा यसको निचोड त कमिटीले दिने नै छ । एयरक्राफ्टको बुढो भन्ने कुरो त्यति सान्दर्भिक कुरा हुँदैन । यो अभिव्यक्ति दिने आधिकारिक व्यक्तिले यसमा अलि ध्यान दिनुभएको भए यो भन्नुहुँदैन थियो । पुरानो एयरक्राफ्ट भएर यस्तो हुने भन्ने हुँदैन ।'

विमानको लाइफ दुई तरिकाले हर्ने उनको भनाइ छ । 'नर्मल्ली एयरक्राफ्टको हरेक कम्पनीको लाईफ दुई किसिमबाट हेर्ने गरिन्छ । एउटा सर्भिस र अर्को क्यालेण्डर लाइफ । उदाहरणका लागिः कुनै कम्पनीको लाइफ दुई सय घण्टा छ भने त्यो समय सकिएपछि विमान चल्दैन । हामीसँग धेरै क्वालिफायर अन्तर्राष्ट्रिय स्तरका इन्जिनियरहरु छन् । उहाँहरूले क्याटोगोराइज हिसावले मेन्टन गरेको हुन्छ । त्यसका रेकर्डहरु अपडेट गरेको हुन्छ । एयरक्राफ्टको लाईफ पुगेपछि कहिले कहीँ बीचमा नै त्यो फेल हुनसक्छ । त्यसैले कहिले पनि पुरानो हुँदैन । यो समयको सीमामा हुन्छ,’ उनले भने ।



पाइलटको सेफ्टीमा कहिल्यै पनि कसैले जोखिम नमोल्ने उनको भनाइ छ । जोमसोम उडान गरेको विमानमा क्याप्टेन (स्व. प्रभाकर घिमिरे) स्वयं नै स्टल एयरफिल्ड र स्टल एयरक्राफ्टको विज्ञ रहेको बताए । उनले नेपालमा स्टल एयरफिल्ड र स्टल एयरक्राफ्टमा विज्ञ स्व. पाइलट घिमिरेसरहको कमै भएको बताए । मौसम पूर्वानुमान महाशाखा र विमानस्थल टावरले मौसमसम्बन्धी पूर्ण रिपोर्ट दिएको तर बीचमा अचानक आएको प्रतिकुल मौसमलाई तालमेल गर्न नसक्दा दुर्घटना भएको हुनसक्ने उनले औँल्याए ।

‘अर्को कुरा पाइलटको सेफ्टीको कुरा हो । सेफ्टीमा हामी कम्परमाइज गर्दैनौँ । सेफ्टी हाम्रो परमकर्तव्य हो । त्यसमा कम्परमाइज गरेपछि एभिएशन अपरेटर पनि रहेन । त्यो पाइलट पनि रहेन । जोमसोम उडेको घटना भन्ने हो भने । उहाँ क्याप्टेन प्रभाकर घिमिरे त्यो स्टल एयरफिल्ड र स्टल एयरक्राफ्टमा विज्ञ नै हो । उहाँ जत्तिको विज्ञ सायदै छन्’ उनले भने, ‘अन फर्चुनेट्ली घटना भयो । उहाँले मेट्रोलोजी डिपार्टमेण्टले दिएको मौसम वा टावरले दिएको मौसम रिपोर्टहरु पूर्ण छन् तर रिपोर्टहरु अचानक फेरियो । त्यो वेदरलाई उहाँले पूर्ण रुपमा म्यानेज गर्न सक्नुभएन इनरुटमा ।’

अध्यक्ष थापाले नेपालको मौसम बुझ्नसक्दा सम्पति र बुझ्ननसक्दा समस्या हुने किसिमको रहेको बताए । उनले स्व. क्याप्टेन घिमिरेले इनरुटमा अचानक आएको प्रतिकूल मौसमको अवस्थालाई म्यानेज गर्न नसक्दा यो दुर्घटना भएको हुनसक्ने बताए । उनले इनरुटमा आएका समस्याको पाइलट स्वयंले नै समाधान गर्नुपर्ने र गर्नसक्ने बताए  ।

उनले मुस्ताङमा भएको विमान दुर्घटनाप्रति दुःख प्रकट गर्दै पाइलटले खराब मौसममा नपसेर नजिक रहेको पोखरा फर्किने वा वागलुङको विमानस्थलमा जाने प्रक्रिया चाल्न सकेको भए दुर्घटनाबाट बच्नसकिने अवस्था रहने बताए । उनले स्व. पाइलट घिमिरे तारा एयरको सेफ्टी डाइरेक्टर भएको र जुनकुनै विमानको पाइलटले उडान भर्ने वा नभर्ने, क्लाउडमा पस्ने नपस्ने, इनरुट परिवर्तन गरेर क्लाउड क्षेत्र (बादलले घेरेको) पार गर्ने वा मौसम अनुकूल नभए उडान भर्दिनँ भन्ने अधिकारसमेत पाइलटकै हातमा रहेको बताए ।

उनले विश्वका घटनाहरु हेर्दा पनि मात्र ८ वर्ष पुराना एयरक्राफ्टहरू ४० प्रतिशत दुर्घटना हुने गरेको तथ्यांक रहेको बताए । उनले उडान भरिसकेपछि सबै अधिकार पाइलटको हातमा हुने भएकोले समस्यालाई कसरी समाधान गर्ने भन्ने कुरा प्राविधिक कुरा नरहेको बताए ।

अध्यक्ष थापाले उडान भरिसकेपछिका समस्या अनुभवको आधारमा नै समाधान गर्नुपर्ने बताए । उनले हरेक विमानको आफ्नै लाइफ हुने भएको र तोकेको समयपछि विमान चल्न नसक्ने बताए

उनले भने, ‘नागरिक उड्डयन प्राधिकरणकै पहलमा प्रि मनसुन ब्रिफिङ प्रशस्तै हुन्थे । एयर ट्राफिक कन्ट्रोलर र पाइलटहरुको बीचमा त्यो अहिले कम भएको पाएको छु । तत्काल आउने इनरुटका समस्याहरुलाई फेस गर्नेकाम पाइलटको हो ।’

अध्यक्ष थापाले हेलिकोप्टरमा दुई जना पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय वैज्ञानिक नभएको तर्क गरे । उनले हेलिकोप्टरमा एउटा मात्रै इन्जिन हुने र सानो ठाउँ हुनाले त्यो प्रभावकारी नहुने बताए  ।

अध्यक्ष थापाले हेलिकोप्टरको क्षमता अल्टिच्युट बढ्दै जाँदा कम हुँदै जाने र भार पनि कम हुँदै जानुपर्ने मान्यता भएकोले दुईजना पाइलटको अर्थ नरहेको बताए । उनले हेलिकोप्टरमा दुईजना पाइलट राख्दा एयरलाइन्सहरुलाई आर्थिक चाप बढ्ने र त्यो चाप परिपूर्ति गर्न सक्ने अवस्था नरहेको बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जेठ १७ गते उडान गरेको विमानस्थलबाट गन्तव्यस्थलसम्मको इनरुटको मौसम प्रतिकुल भएपछि मात्रै उडान भर्न पाउने बताएको थियो । साथै प्राधिकरणले विमान चालकहरुले उडान भर्दा आफूले पाउने मौसमको अधिकारलाई विमानस्थलको अुनमतिपछि मात्रै उडान भर्न पाउने निर्णय गरेको थियो । त्यस्तै, प्राधिरकरणले सम्भावित दुर्घटनालाई कम गर्न हेलिकोप्टरमा पनि दुईजना पाइलट अनिवार्य गर्नुपर्ने बताएको थियो ।

  • प्रकाशित मिति : जेठ २०, २०७९ शुक्रबार १४:९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया