logo-img

बिरामीको मृत्युपछि विराट नर्सिङ होममा तनाव, बिरामीका आफन्तमाथि सेक्युरिटी गार्डले खुकुरी प्रहार गरे

उपचारका लागि अस्पतालमा भर्ना गरिएका बिरामीको मृत्यु भएपछि विराट नर्सिङ होम भनेर चिनिँदै आएको विराटनगर अस्पतालमा शुक्रबार तनाव भएको छ । दुर्घटनाका घाइतेलाई उपचारका लागि ल्याइएकोमा मृत्यु भएपछि परिवारको जानकारीबेगर शव बाहिर निकालेको भन्दै तनाब भएको हो ।
 
गत २३ जेठमा बिहान ९ बजे इटटरी–२ स्थित हलगाडामा कालिकोट घर भई मोरङको सुन्दरहरैंचा–४ मा बस्दै आएका ३४ वर्षीय वीरेन्द्र सहकारी बोगटीलाई प्रदेश–१–०४–००१ च ०१७५ नम्बरको पिकअपले ठक्कर दिएको थियो । साइकलमा सवार सहकारी पिकअपको ठक्करबाट गम्भीर घाइते भएका थिए ।
 
सहकारीलाई उपचारका लागि विराटनगर अस्पताल ल्याइएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको थियो । दुर्घटनामा संलग्न पिकअप सुनसरीको रामधुनी–३ का शम्भुबहादुर दाहालको हो । दुर्घटना भएकै दिन सहकारीका आफन्तले इलाका प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएका थिए । 

तर, प्रहरीले गाडी धनीको प्रभावमा परी दुर्घटनामा गम्भीर घाइतेको उपचार नहुँदै गाडी र त्यसका चालकलाई छोडेको आरोप पीडित पक्षको छ ।

गाडी धनी दाहालले सहकारीको मृत्यु भएपछि पीडित पक्षलाई आन्दोलन नगर्न दबाब दिँदै आएका थिए । शुक्रबार पीडित परिवारले केही सर्त राखेपछि दाहाल छलफलमा बसेका थिए । तर, अस्पतालका सुरक्षा गार्डले छलफलमा बसेका मृतकका आफन्तलाई हातपात गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।



सो क्रममा अस्पतालका सुरक्षा गार्डले मृतकका भतिजा मिलन बोगटीमाथि खुकुरी प्रहार गरेको पीडित पक्षले आरोप लगाएको छ । खुकुरी प्रहारबाट बोगटीको हातमा चोट लागेको मृतकका दाजु राजेन्द्र सहकारीले आरोप लगाए । उनले अस्पताले गाडीधनीसँग मिलेर पीडित पक्षमाथि अन्याय गरेको बताए ।
 
सुरक्षा गार्ड र पीडित पक्षबीच भएको तनावका क्रममा तोडफोड समेत भएको छ । अस्पताल तनाबग्रस्त बनेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो ।





  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार १८:४३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया