प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउन एमालेको माग
‘भ्रमण राजकीय होकि? आधिकारिक वा सद्भावना मात्रै हो?’

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गरेका छन् ।  
आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका दलले समेत प्रश्न उठाइरहेको उल्लेख गर्दै यस सम्बन्धमा संसदमा जानकारी गराउन माग गरेका हुन् । उनले प्रधानमन्त्रीको भ्रमण राजकीय, सद्भावना अथवा व्यापारिक कुन प्रकारको हो सो विषय संसदमा जानकारी गराउनुपर्ने बताए ।  सांसद ज्ञवालीले भ्रमणका क्रममा कुनै समझदारी हुने/नहुने विषयमा पनि बेखबर रहेकाले सो विषयमा स्पष्ट पार्नुपर्ने बताए ।

‘सत्तापक्षको एउटा घटकको प्रमुख सचेतकले प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गरियोस् भन्ने तहसम्म प्रश्न उठाउने विषय सामान्य विषय होइन । सत्ता गठबन्धनमा रहेको असमझदारी र विवाद मात्रै हो भनेर बुझ्ने या यो भ्रमणसँग जोडिएका केही अत्यन्त महत्वपूर्ण विषयहरू छन् जससँग सत्ता घटकहरूबीच छलफल चलिरहेको छ र त्यो विषयलाई उठाउनुपर्ने आवश्यकता प्रमुख सचेतकले बोध गर्नुभयो । यो विषयमा सदन अनुत्तरित रहनु हुँदैन भन्ने मलाई लाग्छ । सम्माननीय प्रधानमन्त्रीज्यूको तर्फबाट यस विषयमा सदनलाई अविलम्ब जानकारी गराउनु आवश्यक छ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु,’ ज्ञवालीले भने ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले सरकारले गम्भीर विषयहरूमा पनि प्रमुख प्रतिपक्ष दलसँग परामर्श तथा सुझाव नलिने र राष्ट्रिय समझदारी नबनाउने गरेको पनि गुनासो गरे ।  

‘प्रमुख प्रतिपक्ष त यस विषयमा बेखबर नै छ किनभने लामो समय भयो यस्ता गम्भीर प्रश्नहरूमा प्रमुख प्रतिपक्षलाई जानकारी गराउन, ऊसँग परामर्श लिने, सुझाव लिने र राष्ट्रिय समझदारी बनाउने यो चलन वर्तमान सरकारले छोड्दै गएको छ । भ्रमण राजकीय होकि? आधिकारिक हो कि? सद्भावना मात्रै हो कि? कुनै अफिसियल या कुनै विजनेस लाइक हो कि? त्यस सम्बन्धमा हामीलाई जानकारी छैन । छलफलका विषयहरू के हुन्? त्यहाँ कुनै समझदारीहरू हुँदैछन्? हुँदैछन् भने के विषयमा हुँदैछन्? यस विषयमा प्रमुख प्रतिपक्ष बिलकुल बेखबर छ । प्रमुख प्रतिपक्षलाई यस सम्बन्धमा कुनै जानकारी गराइएको छैन । यो विषय पनि मैले सदनमा रेकर्ड गराउन चाहन्छु,’ उनले भने ।

ज्ञवालीले देउवाको अमेरिका भ्रमण प्रधानमन्त्री कि रक्षामन्त्रीको हैसियतमा हुन लागेको हो भन्ने पनि स्पष्ट पार्न माग गरे । 





  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार १२:४५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया