नेपाल खेलकुद महासंघको स्थायी कमिटी बैठकः खेल महोत्सवलगायतका योजना, खेलकुद क्षेत्रको बजेट घटाएकोमा निराशा

नेकपा एमालेसम्बद्ध नेपाल खेलकुद महासंघ (नेकोस)ले विभिन्न खेलकुदका कार्यक्रमहरु गर्ने तालिका सार्वजनिक गरेको छ । १४ मंसिरमा महासंघ स्थापनाको दिवसमा साताव्यापी खेल महोत्सव आयोजना गर्ने नेकोसको पहिलो स्थायी कमिटी बैठकले निर्णय गरेको हो ।

मंगलबार बसेको बैठकले १५ असारमा धान दिवसको अवसर पारेर खेलाडी खेतमा दुई दिन भन्ने नारासहित हिले डोरी तान्ने प्रतियोगिता पनि आयोजना गर्ने भएको छ । 

त्यस्तै, काठमाडौं मेट्रो फेस्टिभलअन्तर्गत आयोजना हुन बाँकी कार्यक्रम १० असारभित्र सक्ने नेकोसले निर्णय गरेको छ ।

मंगलबार खेलकुद महासंघका इन्चार्ज तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले स्थानीयस्तरमा खेलकुदलाई पुर्याउने उद्देश्यले स्वस्थ अभियान पनि सुरु गर्ने भएको छ । 

त्यस्तै, नेकोसले देशका केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारसँग समन्वय गरी खेलका गतिविधिहरु सञ्चालन गर्नका लागि महासंघका स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख दिपेन्द्र दाहालको संयोजकत्वमा १० सदस्यीय खेलकुद प्रतियोगिता विशेष उपसमिति गठन गरेको भएको छ । समितिका सदस्यहरुमा नन्दा बस्याल, प्रनिर अधिकारी, कपिल न्यौपाने, उमेश केसी, डिबि रानापाल, रुपेश अधिकारी, कृष्ण सिग्देल, कमल किशोर चौधरी र प्रकाश कुमार चन्द रहेका छन् । 



त्यस्तै, नेकोसले सरकारले ल्याएको आर्थिक वर्ष २०७९÷८० को बजेटमा खेलकुद क्षेत्रमा अघिल्लो आर्थिक वर्षको भन्दा कम रकम विनियोजन गरेको भन्दै यसले सम्पूर्ण खेलकुद क्षेत्रलाई निराश बनाएको उल्लेख गरेको छ । 



‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको मिति घोषणा भइसकेको अवस्थामा बजेटको आकार घटाइनु दुखद हो,’ नेकोसका अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम)ले बुधबार नेकोसले स्थायी कमिटी बैठकबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘यसले कतै राष्ट्रिय खेलकुद प्रतियोगिता नै नहुने त होइन भन्ने आशंका व्यक्त गरेको छ ।’ उनले खेलकुद क्षेत्रले देशलाई नै विश्वमा चिनाउने भए पनि सरकारले यसलाई कम महत्त्व दिएकाेमा आफूहरु दुखी भएकाे पनि बताए ।

त्यस्तै, मंगलबारको नेकोसको स्थायी कमिटी बैठकमा महासंघले पछिल्लो ४ महिना गरेका विभिन्न राजनितिक, सांगठनिक एवं आर्थिक गतिविधिलाई समेटेर संयोजक बस्नेतले बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गरि सर्वसम्मतिले पारित भएको छ । बैठकमा महासंघका सबै प्रदेशका इन्चार्ज एवं विभागीय प्रमुखहरुले आ–आफ्नो प्रदेश तथा विभागका कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए ।

त्यस्तै, बैठकले १० असारसम्ममा महासंघ आवद्ध सबै खेल संघहरुको बैठक गर्ने र देशभर हुने खेलकुद कार्यक्रमको वार्षिक कार्यक्रम बनाउने पनि निर्णय गरेको छ ।

महासंघको केन्द्रिय कार्यालय त्रिपुरेश्वरबाट काठमाडौं महानगरपालिका वडा नं १० स्थित पुरानो बानेश्वर हाइटमा सारिएको छ । यो कार्यालयको बाँस्कोटाले उद्घाटन गरेका छन् ।

  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार २३:३०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया