logo-img

नेपाली कम्युनिस्ट आन्दोलन विग्रहतर्फ, ओलीले संसद विघटन गर्नु अक्षम्य गल्तीः घनश्याम भुसाल

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले फेरि पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् । यसअघि उनले पार्टी अध्यक्षको आलोचना गर्दै आएको भन्दै अनुशासन आयोगले उनीमाथि कारवाहीको सिफारिस गरेको थियो । यो सिफारिस एमाले बैठकले अनुमोदन पनि गरिसकेको छ । 

तर, भुसालले बुधबारको एक कार्यक्रममा पनि ओलीको आलोचना गरे । ओलीले प्रधानमन्त्री हुँदा दुई पटकसम्म गरिएको संसद विघटनको निर्णय क्षम्य हुन नसक्ने बताउँदै अहिले नेपाली कम्युनिस्ट आन्दोलन विग्रहतर्फ गएको पनि बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजना गरिएको ‘कम्युनिस्ट आन्दोलनः संकट र अबको बाटो’ कार्यक्रममा भुसालले यस्तो बताएका हुन् ।



उनले यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपामा विग्रह आउनुमा दुवै ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोषी रहेको पनि बताएका छन् ।

‘ओली र प्रचण्डले प्रधानमन्त्री र अध्यक्ष आधा आधा समय बाँडफाँडको सहमति दुई वर्षसम्म गोप्य राखे,’ उनले कार्यक्रममा भने, ‘जुवा खेलेर यिनीहरुले गाउँभरी हल्ला गर्दै हिँडे, सहमतीको पोल खुलेपछि समस्या भयो ।’

भुसालले ओली र प्रचण्ड अध्यक्ष हुँदा एउटाले पार्टी बैठक नबोलाउने र अर्कोले हस्ताक्षर गर्दै हिँड्दै गरेकाले नेकपामा फुट आएको पनि बताए । 



‘दुई जनाको गोप्य सम्झौताको पोल खुलेपछि संसद विघटन गरियो,’ उनले भने, ‘यो क्षम्य कुरा होइन ।’ उनले पछिल्लो समय नेपाली कम्युनिस्ट आन्दोलन विग्रहको बाटोमा गएको पनि बताएका छन् ।

उनले यसपटक संसद विघटन गर्नै नसकिने गरि संविधान बनाएको तर ओलीले संसद विघटन गरेको पनि बताएका छन् । उनले संसद विघटन गर्नुलाई ओलीले आफ्नै घरको गौँथलीको गुँडमा आगो लगाउने कार्य भएको पनि संज्ञा दिएका छन् ।



संसद विघटनकै कारण नेपालमा कम्युनिस्ट पार्टीहरु अहिलेको अवस्थामा आइपुगेको उनले बताएका छन् ।

  • प्रकाशित मिति : असार १, २०७९ बुधबार १६:५५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया