कैलालीको धनगढी उपमहानगरपालिकाले ‘पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने भएको छ । मंगलबार उपमहानगरको आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर गोपाल हमालले यस्तो घोषणा गरेका हुन् ।
उनका अनुसार नगर क्षेत्रभित्रका सडक लगायतका पूर्वाधारको नियमित रुपमा मर्मत–सम्भार तथा स्तरोन्नतिका लागि मर्मत सम्भार एकाइको गठन गर्दै पूर्वाधार एम्बुलेन्स सञ्चालन गरिने भएको हो ।
उपमहानगरले नीति तथा कार्यक्रमको सहरी पूर्वाधार विकास तथा यातायात व्यवस्थापन कार्यनीतिमा पूर्वाधार एम्बुलेन्स सञ्चालनको योजना अटाएको हो । यस्तै, क्रमागत योजनालाई प्राथमिकतामा राखेर कार्यान्वयनमा लैजाने पनि नीति तथा योजनामा उल्लेख छ ।
नीति तथा कार्यक्रममा ५ वर्षे कार्यकाललाई ‘हाम्रो धनगढी हामी बनाउछौँ’ महाअभियानको रुपमा मनाउने जनाएको छ । ‘हाम्रो कार्यकाललाई हाम्रो धनगढी हामी बनाउछौं महाअभियानका रुपमा मनाइने छ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगरको एकीकृत, सन्तुलित, दिगो, योजनाबद्ध विकासका लागि मध्यकालीन खर्च संरचना, लैंगिक उत्तरदायी बजेट र दिगो विकासका लक्ष्य स्थानीयकरणसहितको पहिलो पन्चवर्षीय आवधिक योजना (२०७९–०८०–२०८३–०८४० तर्जुमा गरी कार्यान्वयन गरिने पनि मेयर हमालले घोषणा गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।