काठमाडौं क्षेत्र नं. ५ : जसलाई संसदको इन्ट्री बनाउन चाहन्छन् यी

स्थानीय तह निर्वाचनको सरगर्मी सेलाउन नपाउँदै देशमा प्रदेश र प्रतिनिधिसभाको चुनावलाई लिएर चर्चा सुरु भएको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको कहिले हुन्छ निश्चित नहुँदै उम्मेदवारी घोषणा गर्ने व्यक्तिहरूको लहर चलेसँगै चुनावी चर्चा परिचर्चा चुलिएको हो । अहिले काठमाडौंसहित देशका विभिन्न चुनावी क्षेत्रबाट उम्मेदवारी घोषणा गर्ने लहर चलिरहेको छ ।  

स्थानीय निर्वाचनमा काठमाडौंमा महानगर बालेन साह, सुनसरीको धरान उपमहानगरमा हर्क साम्पाङ र कैलालीको धनगढीमा गोपाल हमाल स्वतन्त्र रूपमा निर्वाचित भएसँगै स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गर्नेको होड नै चलेको हो ।

सञ्चारकर्मबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेदेखि फिल्म निर्देशक मनोज पण्डितसम्मले प्रतिनिधिसभाको निर्वाचनमा उठ्ने घोषणा गरेका छन् ।

मनोज एमाले नेता गोकुल बाँस्कोटाले जितेको क्षेत्र काभ्रे क्षेत्र नं. २ बाट निर्वाचन लड्दै छन् भने रवि अहिले पार्टी निर्माणका क्रममा छन् । रविले केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिइसकेका छन् ।

त्यस्तै, स्वतन्त्र रूपमा पुकार बमले चुनावी अभियान थालेका छन् भने नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले पार्टी नै खोलेर निर्वाचनमा होमिएका छन् ।



जसले गर्दा प्रतिनिधिसभाको निर्वाचन रोचक हुने देखिएको छ । र अहिले सबैभन्दा धेरै चर्चामा काठमाडौं क्षेत्र नं. ५ छ । यो क्षेत्रबाट चर्चित नेताहरूसँगै युवा अनुहार चुनावी मैदानमा उत्रिने तयारी गरेका छन् ।

२०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भारी मतले विजयी भएका थिए । उनले नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई ९ हजार ८ सय ६० मतान्तरले हराएका थिए ।



पोखरेलले २३ हजार २९ मत ल्याउँदा महतले १३ हजार १६९ मत प्राप्त गरेका थिए । यही क्षेत्रबाट विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्जवल थापाले पनि प्रतिस्पर्धा गरेका थिए । उनले ६ हजार ८ सय ५३ मत ल्याएका थिए ।

यो क्षेत्रमा ०७० र ०६४ सालको संविधानसभा चुनावमा भने कांग्रेसले जित हात पारेको थियो । दुवै पटक कांग्रेसका नरहरि आचार्यले चुनाव जितेका थिए ।

काठमाडौं क्षेत्र नं. ५ मा चर्चित र स्थापित नेतासँग युवाहरूले प्रतिस्पर्धा गर्ने तयारी थालेका छन् । यसअघि चुनाव जितेका एमाले नेता पोखरेल यही क्षेत्रबाट चुनाव लड्ने निश्चित जस्तै छ । उनी प्रतिनिधिसभा सदस्यमा पुन दोहोरिन चाहन्छन् ।

काठमाडौं क्षेत्र नं. ५ मा मानुषी यमीले पनि उम्मेदवारी घोषणा गरेकी छन् । जसपा संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी हुन् ।मानुषी जसपाबाट चुनाव लड्ने बताइएको छ

यसैगरी, विवेकशील नेपालकी पूर्वनेता रञ्जु दर्शनाले पनि काठमाडौं क्षेत्र नं. ५ बाट उठ्ने घोषणा गरेकी छन् । ०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको मेयरमा लडेकी थिइन् । मेयर उम्मेदवार रहँदा २३ हजार ४३९ मत ल्याएकी उनले अहिले प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र रूपमा उठ्ने तयारी गरेकी हुन् ।

त्यस्तै, काठमाडौं क्षेत्र नं. ५ बाटै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता नैनसिंह महर उम्मेदवार दिने तयारी गरेका छन् । यसअघि उम्मेदवार बनेर पराजित भएका नेता महत नुवाकोटबाट चुनाव लड्ने चर्चा छ । यहाँबाट महरलाई उम्मेदवार बनाउनका लागि नेताहरूले लविङ थालेका छन् ।

यसैगरी कांग्रेसबाटै युवा नेता प्रदीप पौडेलले पनि यही क्षेत्र रोज्ने सम्भावना छ । उनी तनहुँबाट नउठे यही क्षेत्रबाट चुनावी मैदानमा उत्रिने तयारी गरेको उनी निकट स्रोत बताउँछ ।

नेपाल विवेकशील पार्टीकी संघीय अध्यक्ष कर्मा तामाङले पनि काठमाडौं क्षेत्र नं. ५ बाटै उम्मेदवारी दिने भएकी छन् । पार्टीको संघीय समितिको बैठकले उनलाई काठमाडौं क्षेत्र नं. ५ बाट उठाउने निर्णय गरिसकेको छ । नेपाल विवेकशील पार्टीको अध्यक्षका रूपमा राजनीतिक जिम्मेवारी लिएकी तामाङ सुरुवातकालदेखि नै विवेकशील अभियानमा सक्रिय थिइन् ।

यसैगरी पूर्वसञ्चारकर्मी रवि लामिछाने पनि काठमाडौं क्षेत्र नं. ५ बाट उम्मेदवारी दिने सम्भावना रहेको छ । उनले पहिलो प्राथमिकता काठमाडौं क्षेत्र ३, त्यसको विकल्पमा काठमाडौं क्षेत्र नं. ५ वा आफ्नो फाउन्डेसनले अस्पताल बनाएको जिल्ला कालीकोटबाट उम्मेदवारी दिने छन् ।

हरिशरणले केही समयअघि काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने घोषणा गरिसकेका छन् । रविको निर्वाचन क्षेत्र पनि यही हो । दाजु हरिशरण उठेको खण्डमा रवि अन्य विकल्पमा जाने उनी निकट स्रोतको भनाइ छ ।  

यो क्षेत्र काठमाडौं महानगरपालिकाको वडा नं. २, ३, ४ र ५, टोखा नगरपालिकाको वडा नं. २, ३, ४, ५, ६ र ७ तथा बूढानीलकण्ठ नगरपालिकाको वडा नं. ३, ४, ५, ६ र ७ मा फैलिएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवाससमेत रहेको क्षेत्र हो ।

  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार २०:२५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया