भत्ता बुझ्न घण्टौँ लाइन बसेका ज्येष्ठ नागरिकको प्रश्न- कहाँ आयो सिंहदरबार?

बझाङको केदारस्युँ गाउँपालिकावासीका सबैभन्दा नजिकको बैंक रहेको स्थान हो झोता बजार । उँपालिका–९ झोतामा स्थानीय तहका लागि नेपाल इन्भेष्टमेन्ट बैंक खुलेको छ । बैंकबाट गाउँपालिकाले सबै कारोबार र सामाजिक सुरक्षा भत्ता पनि वितरण गर्दै आएको छ ।

गत मंगलबार केदारस्युँ–६ का ७५ वर्षीया जेष्ठ नागरिक रेपती गुर्धामी बैंकको बाहिर लामो सुस्केरा हाल्दै बसिरहेकी भेटिइन् । दमकी बिरामी भएकाले उनी कच्ची सडकमा लामो गाडीको यात्रा र बान्ताले निकै कमजोर भएकी थिइन् ।

भत्ता बुझ्नेहरूको ठूलो लाइन भएकाले बैंकले क्रमश: बोलाइरहेको थियो । थकित मुन्द्रामा रहेकी गुधार्मीले भनिन्, ‘यै सरकारले सक्या घरघर नसक्या वडामा भत्ता बाँड्नु हो । हमीजसा बुढाबुढीले दुःख पायौँ । आउनझान दुई हजार त जिप भाडा मात्र लिनाछन् । नानु चायापानी खानुइ पड्यो । भत्ता बुझ्न आउँनाझाना सब्बै गरी २ हजार ५ सय खर्च हुनोछ । यति खर्च भयापछि हामुले भत्ता बुझ्याको क्या सार भयो?’

उनीसँगै केदारस्युँ–६ कुँवर गाउँका पठाने धामी पनि आफ्नी विरामी श्रीमतीसहित जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बुझ्न झोता पुगेका थिए । उनकी ८० वर्षीया श्रीमती गंगा धामी टाउकोमा हात राखेर बसिरहेकी थिइन् । उनी बोल्ने अवस्थामा थिइनन् ।

पठाने आत्तिएर घरी यता घरी उता गर्दै थिए । उनले आत्तिँदै भने, ‘मेरी स्वाइनी मर्न लाइगई हजुर । छकालै अन्नी नखाइ आयाका हौं । केइ विरामले सक्याकी छिइ केइ गाडीका धक्काले मार्यो हजुर । केइ खान्या हैकी भनी सोध्या पन बोल्दिनँ । घरघर सरकार आयो भन्नाछ्याइन हजुर हमीले यत्रा दुःख केइ भोग्ना पड्या? वडामी बाँड्या हुँदैन? घरघर सिंहदरबार आयो भन्नाछन् काँ छ, यसाइ दुःख दिनाखि हो ?’

उकालो ओरालो कच्ची सडकमा लगातार ४ घण्टा भोकै पेटमा यात्रा गरेपछि थकित गम्भीर विरामी जस्तै बनेकी केदारस्युँ–६ कै ७५ वर्षीया लालमती गुर्धामीले पनि सामाजिक सुरक्षा भत्ता बुझ्न निकै सास्ती भएको बताइन् ।



सरकारले सामाजिक सुरक्षा भत्ता बढाएर वितरण गर्नु न्यायोचित भए पनि पायक पर्ने ठाउँमा बैंक नहुनु नै अहिलेको मुख्य समस्या भएको उनको गुनासो छ । उनका अनुसार भत्ता बुझ्नका लागि ग्रामिण भेगका नागरिकले एक दिन नै छुट्याउनुपर्ने, जोखिमपूर्ण यात्रा गर्नुपर्ने र खर्च व्यवस्थापन गर्नुपर्ने जस्ता समस्या देखिएका छन् । 

बझाङलाई पनि काठमाडौं देख्ने सरकारको नजर नहटेसम्म दूरदराजका जनताले लोकतन्त्रको आभास गर्नु सपना मात्र भएको सामाजिक अगुवा धर्मजंगबहादुर सिंह बताउँछन् । उनले जनताको मर्कालाई बुझेर बझाङको दुर्गाथली गाउँपालिका, साइपाल गाउँपालिका लोकतन्त्रको अभ्यास गरेको र अरू पालिकाले पनि यसको अनुसरण गर्नुपर्ने बताए ।



यस आर्थिक वर्षमा साइपाल गाउँपालिका र दुर्गाथली गाउँपालिकाले मात्रै घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । विगतमा बैंकबाट भत्ता बुझेर झन्झट भोगिरहेका दुर्गाथली २ का डम्बर खाती आफ्ना लागि सिंहदरबार घरमै आएको बताउँछन् । 

सुर्मा, छबिसपाथिभेरा, मष्टा, थलारा, बित्थडचिर गाउँपालिका, जयपृथ्वी र बुंगल नगरपालिकाका प्रायः जसो वडाहरू निकै दुर्गम भएकाले यहाँका लाभग्राहीले पनि सेवाको लागि सास्ती भोग्नु पर्ने अवस्था रहेको छ । जेष्ठ नागरिकसँगै अपाङ्गगता भएका व्यक्तिहरुले पनि सामाजिक सुरक्षा भत्ता लिन सास्ती खेप्नु परेको गुनासो उनीहरुको छ ।

सुर्मा गाउँपालिका २ को गजौनका दीपक बोहराले एक दिनभर लगाएर आफ्नी हजुरआमालाई पिठ्युँमा बोकेर बैंक खाता खोल्न आएको भन्दै दुःख पोखे । बोहरा भन्छन् ‘घरबाट बिहान ६ बजे हिँड्नुपर्छ, बाटो भरि जंगल हुँदा झनै सास्ती छ, पहिले वडा कार्यालयबाटै भत्ता पाइन्थ्यो, अहिले दौलिचौरस्थित एभरेष्ट बैंकमा खाता खोलेको भए पनि त्यहाँ इन्टरनेटले काम नगर्दा चैनपुर आउनुपर्दा धेरै नै दुःख भएको छ।’

भत्ता लिन कै लागि भोकभोकै दिन बिताउनुपर्ने भन्दै बिरामी, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरूले थप सास्ती भोग्नुपरेको उनको भनाइ छ। ‘वडा–वडामा भत्ता वितरण गर्ने हो भने कसैलाई पनि सास्ती हुँदैन,’ उनले भने ।

सामाजिक सुरक्षा भत्ता बुझ्न झोता (बैंक आगन) पुगेका केदारस्युँका सेवाग्राही । तस्बिर : रिदम सिंह

भौगोलिक हिसाबले मात्रै बझाङका सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरूलाई सास्ती छैन । बैंकमा इन्टरनेट नचल्ने, दिनभर लाइन लाग्नुपर्ने, पालिकाको सिफारिस आदि पनि लाभग्राहीका प्रमुख समस्या हुन् । घरमा छोराछोरी नभएका साहारा विहीन वृद्धवृद्धा, असहाय, अपाङ्गता भएका र एकल महिलालाई झन् समस्या हुने गरेको जयपृथ्वी नगरपालिका–३ का पत्थरी बोहरा बताउँछन् ।

बैंक र पालिकाका कर्मचारीले आफूहरूको पिडा नबुझ्ने गरेको बोहराको भनाई छ । बुंगल नगरपालिका–२ सलकाट्टेकी पटकी देवी धामी ८५ वर्ष पुगिन् । उनलाई हिँडडुल गर्न निकै सकस हुन्छ । यसअघि घरमै भत्ता बुझदै आएकी धामीले यसपालि भने बैंकबाटै भत्ता बुझ्ने भएकी छन् । सरकारले बैंकबाट मात्र भत्ता दिने भएपछि गाउँलेले बोकेर उनलाई वडा कार्यालयमा आएको शिविरमा पुर्याए । लेखपढ गर्न नजान्ने र राम्ररी आँखा पनि नदेख्ने धामीलाई बैंक मार्फत भत्ता बुझ्ने काम झन्झटिलो लागेको छ ।

उनी भन्छिन्, ‘एक घण्टाको बाटोमा त गाउँका दाजुभाइले बोकेर ल्याए । भोलि भत्ता बुझ्न को गइदेला । बैंक पुग्न दुई घण्टा हिँड्नुपर्छ । दुई घण्टा जति जिपमा जानु पर्छ । सरकारले भत्ता दिएर त राम्रै काम गरेको थियो । तर भत्ता बाँड्ने काम झन्झटिलो भयो । पहिलेका जसरी घरमै पुगेर दिए राम्रो हुने थियो ।’

हरेक चौमासिकमा घरमै वृद्धभत्ता बुझ्दै आएकी बुंगल नगरपालिका–२ लौनेकी चन्द्रा धामीलाई बैंकबाट भत्ता लिनुपर्ने भएपछि निकै सास्ती भएको छ । लौनेबाट वडा कार्यालयसम्म पुग्न ५ घण्टा हिँडिनुपर्छ । वडा कार्यालयबाट साना सवारी जिप चढेर झण्डै दुई घण्टाको यात्रापछि कृषि विकास बैंकको बुंगल शाखामा पुगिन्छ । पहिलेभन्दा अहिले भत्ता लिन धेरै झन्झट बेहोर्नु परेको उनको भनाइ छ ।

उनी भन्छिन्, ‘पहिले घरमै दिन्थे । कहिले भतिजा भतिजीहरूलाई बुझेर ल्याउन भन्थेँ । तर अहिले साह्रै दुःख छ । बैँकसम्म पुग्न दुई दिन लाग्छ । बैंकमा पुगे पनि घण्टौँ लाइनमा बस्नुपर्छ । एकातिर समयको पनि खर्च अर्को तिर सरकारले दिएको भत्ता पनि बैंक जाँदा गाडी भाडा र खाना खर्चमै सकिन्छ ।’ भौगोलिक हिसाबले निकै टाढा रहेका जिल्लाका ग्रामीण बस्तीका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले भत्ता बुझ्न घण्टौँ पैदल हिँडेर बैंक सम्म पुग्नु परेको उनको दुःखेसो छ ।

बझाङका अधिकांश लाभग्राही अहिले सामाजिक सुरक्षा भत्ता बुझ्नको लागी कम्तिमा २ घण्टादेखि १ दिन हिडेर बैंक पुग्ने गरेका छन् । बैंक पुगे पनि चेकमा लेख्न लगाउनुपर्ने, घण्टौँ लाइनमा बस्नुपर्ने, घर फर्कन गाडी कुर्नुपर्ने, बुढेसकालमा घण्टौँ हिँड्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ । कहिलेकाहीँ बैंकमा इन्टरनेटले काम नगर्दा रित्तै हात फर्किनुपर्दा झन् समस्या हुने गरेको छ ।

कतिपयको एकदिनमा काम नसकिएर बास नै बसेर भोलिपल्ट मात्रै काम सकेर फर्किनु पर्ने अवस्था आउने गरेको साइपाल गाउँपालिकाका मिलन धामीले बताए । गाउँ नजिकै बैंक नहुने र टाढाटाढाका बैंकमा खाता खोल्नुपर्ने बाध्यता हुँदा सामाजिक सुरक्षा भत्ता बुझ्ने जिल्लाका लाभग्राहीहरुलाई समस्या हुन थालेको छ । यसअघि सम्बन्धित वडा कार्यालयबाट घरैमा गएर सामाजिक सुरक्षा भत्ता दिँदै आएकोमा सरकारले बैंकिङ प्रणालीबाट दिन सुरू गरेपछि नागरिकहरूलाई सास्ती भएको हो ।  

  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १२:३८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया