इस्लाम धर्मावलम्बीहरुले मनाउने दोस्रो ठूलो चाड बकर इद (इद उल अजहा) आइतबार विराटनगरमा पनि हर्षोल्लासका साथ मनाइएको छ ।
यसै उपलक्ष्यमा आज बिहान विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाज (प्रार्थना) गरिएको छ । इस्लाम धर्मावलम्बीको महान् चाड बकर इद रमजान पर्वको ७०औँ दिनमा मनाउने धार्मिक परम्परा छ ।
इस्लाम पात्रो हिजरी सम्वत्अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दसौँ दिनमा यो पर्व मनाइन्छ । इदलाई आत्मशुद्धिको पर्वसमेत भनिन्छ ।
यो पर्व मनाउनुअघि इस्लाम धर्मावलम्बीहरू बिहानै नुहाइ–धुवाइ गर्छन् । शरीरलाई शुद्ध बनाउँछन् । त्यसपछि नयाँ वस्त्रधारण गर्छन् । यसरी शुद्ध भइसकेपछि मस्जिद वा इदगाहामा पुगेर नमाज पढ्ने प्रचलन यो समुदायमा रही आएको छ ।
मुस्लिम समुदायले मनाउने यो पर्व एउटा उत्साह र समानताको प्रतीक पनि हो । जहाँ परिवार र समुदायका हरेक व्यक्ति चाहे धनी हुन् वा गरिब आपसमा मुस्कान र सदाचारका शुभेच्छासहित एकअर्कामा अँगालोमा बाँधिएर शुभकामना आदानप्रदान गर्दछन् ।
आपसी सद्भावको चाडको रूपमा मनाइने यो पर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरेको छ । यो पर्वका बेला हैसियत हुने मुस्लिमहरू हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् ।
यस पर्वमा मुस्लिम समुदायले आफ्नो घरमा जनावरको कुुर्बानी (बलि) दिने गर्दछन् भने उक्त कुर्बानीको मासु तीन भाग लगाइन्छ । एक भाग आफ्नो परिवार, एक भाग छिमेकी, इष्टमित्र र एक भाग गरिब तथा दीनदुःखीलाई बाँड्ने गरिन्छ ।
सबैले चाँड पर्व रमाइलो गरी मनाउनका लागि यसरी मासुको भाग लगाइन्छ । इस्लाम धर्मगुरुहरुले कुर्बानी (बलि)को कुनै पनि फोटो तथा भिडियो सामाजिक सञ्जालमा नराख्न आग्रह गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।