जोखिममा रहेका १५ घर-परिवारलाई तत्काल सुरक्षित बसोवासको व्यवस्था गर्न माग

कैलालीको कैलारी गाउँपालिका–३ शिवरत्नपुरका स्थानीय उच्च जोखिममा रहेका १५ घर परिवारलाई तत्काल सुरक्षित बसोवासको व्यवस्था गर्न माग गरेका छन् । 

मंगलबार फियान नेपाल प्रदेश कार्यालयद्वारा गरेको डेलिगेसनमा जिल्ला विपद् व्यवस्थापन समिति कैलालीलाई ज्ञापनपत्र बुझाउँदै शिवरत्नपुरका बाढी प्रभावित समुदायले उक्त माग राखेका हुन् । 

जिल्ला विपद् व्यवस्थापन समिति कैलाली र राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै उच्च जोखिममा रहेका १५ घर परिवारलाई तत्काल सुरक्षित बसोवासको व्यवस्था गर्नुपर्ने माग राखेको शिवरत्नपुर खाद्य अधिकार समूहका सचिव कमल चौधरी बताए । 

'ज्ञापनपत्रमा बाढीको समयमा तत्काल उद्धार कार्यका लागि आवश्यक औजार, उपकरण तथा प्लास्टिकको डुंगाको व्यवस्था गर्नुपर्ने माग राखिएको छ,’ उनले भने, 'शिवरत्नपुर मोहना नदीका कारण तत्काल १५ घर परिवार उच्च जोखिममा रहेका छन भने बाँकी ८० घरसमेत जोखिममा रहेका छन् । बस्तीमा एक्कासि बाढी आउदा सुरक्षित ठाउँमा सार्न एक डुङ्गा पनि नरहेकोले यो माग अघि सरिएको हो ।’ 

मोहना नदीको कारण सम्बन्धविच्छेदको अवस्था रहेका र विगत ३ वर्षदेखि निर्माण सम्पन्न हुन लागेको झोलुङ्गे अहिलेसम्म नबनेको कारण पुल यथासम्भव चाडो निर्माण सम्पन्न गरी सुरक्षित आवागमनको सुनिश्चितताका लागि आवश्यक पहल माग राखेको उनले बताए । 

गर्भवती तथा बालबालिकालाई खोप लगाउन नदी पार गरेर खोनपुर, भडरी आउनुपर्ने बाध्यता रहेकोले दुई वर्षअघि शिवरतनपूरमा निर्माण भएको खोप केन्द्र तत्काल सञ्चालनको लागि पहल गर्न माग राखिएको छ । 



सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यालय, कैलालीमार्फत खोनपूर झोलुङ्गे पुल आर्थिक वर्ष २०७७ मा टेण्डर आह्वान गरी ठेक्कामार्फत निर्माण कार्य थालनी गरिए पनि हालसम्म उक्त पुल निर्माण हुन सकेको छैन । 

ज्ञापनपत्रमार्फत मोहना नदीको बाढीको कारणले बर्सेनि हुने डुबान, कटान र पटानबाट बस्ती, आम नागरिक, पशुचौपाया तथा खेतीयोग्य जमिनको संरक्षणका लागि विषेश गुरु योजना निर्माण गरी तत्काल कार्यान्वयन पनि माग राखिएको छ । 



कैलारी गाउँपालिका–३ सुर्मिलाना पुलदेखि (हुलाकी मार्ग) दक्षिण करिव २.५ किलोमिटरमा मोहना नदी पारि शिवरत्नपूर गाउँबाट आउन जान सधैँ डुङ्गाको प्रयोग गर्नु पर्ने बाध्यता छ । प्रकृति प्रकोप उद्धार समिति कैलालीको अध्ययन प्रतिवेदनअनुसार कैलारी गाउँपालिका बाढीबाट जोखिमयूक्त उच्च जोखिमको सूचीमा रहेको छ । कैलारी गाउँपालिकामा पनि शिवरत्नपूर गाउँ रहेको वार्ड नं ३ अति जोखिम क्षेत्रमा पर्दछ । 

मोहना नदीमा पुल नहुँदा वर्षायाममा औषधोपचार गर्न, दैनिक ज्यालादारीका लागि अन्यत्र जान, दैनिक उपभोग्य सामान खरिद गर्न तथा बालबालिका विद्यालय जानसमेत वन्चित हुनुपर्ने अवस्था छ ।  

२०७८ कार्तिक २ गतेको अबिरल वर्षाका कारण आएको बाढीले धानबाली नष्ट हुनु तथा खेतीयोग्य जमिनमा बालुवा पटान भई खेती गर्नसमेत नमिल्ने अवस्था सृजना भएको शिवरत्नपुरका स्थानीय सुदेशी चौधरीले बताए । 

बाढीको कारण मोहना नदीको धार परिवर्तन भई कैलारी गाउँपालिकाले बस्ती जोगाउन लगाएको जैविक तथा पक्की तटबन्ध यही असार १४ र १५ गते आएको बाढीले आंशिक तथा असार २५ गते आएको बाढीले बाँकी सबै तटबन्ध भत्काई बगाएको छ । उक्त तटबन्ध कैलारी गाउँपालिकाको २० लाख आर्थिक बजेटमा निर्माण भएको थियो । 

मोहना नदीको धार परिवर्तन भई खौला नै बस्तीतर्फ पस्न सक्ने जोखिम रहेको छ,’ उक्त बस्तीका विप्ती चौधरीले भने, ‘मोहना नदीका कारण तत्काल १५ घर परिवार उच्च जोखिममा रहेका छन भने बाँकी ८० घरसमेत जोखिममा रहेका छन् ।’  

बाढी जहिले पनि आउन सक्ने भएकोले सरोकारवाला निकायले समयमा ध्यान दिन जरुरी रहेको फियान नेपाल सुदूरपश्चिम प्रदेश संयोजक मुकुन्द रानाले बताए । 

प्रभावित समुदायले जिल्ला विपद् व्यवस्थापन समिति कैलालीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी र राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश संयोजक मोहनदेव जोशीलाई ज्ञापनपत्र बुझाएका थिए ।

  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार १९:२३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया