हेटौंडा अस्पताल : छानबिनले गति नलिँदा म्याद सकिएका औषधि अलपत्र

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा पछिल्लो समय म्याद गुज्रिएका औषधि गोप्य ढंगले व्यवस्थापन गर्न खोजेको भन्दै आलोचित हुन परेको थियो । केही वर्ष अघिदेखिकै म्याद गुज्रिएको औषधिको व्यवस्थापन गर्न लाग्दा रंगेहात समातिएपछि अस्पताल विवादमा मुछिएको हो । 

बिरामीको स्वास्थ्यमाथि बेइमानी गरी बाँड्नुपर्ने औषधि थन्क्याएर राख्दा म्याद गुज्रिएपछि औषधि फाल्नुपर्ने अवस्था आएको हो । नागरिकलाई सित्तैमा दिनका लागि नेपाल सरकार तथा भारत सरकारले उपलब्ध गराएका औषधि बरु धन्क्याएर राख्ने, तर बिरामीलाई नदिने गरेको खुलासा भएको थियो ।

यता, लाखौँ मूल्यका औषधि डिस्पोजका लागि फोहोर व्यवस्थापन कक्षमा राखिएकोप्रति उपभोक्ता हित संरक्षण मञ्च नेपालले औषधि रोक्का राखी छानबिन गरी पाऊँ भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई अघिल्लो शुक्रबार पत्र बुझाएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्र देव पाण्डेको अध्यक्षतामा छानबिन समिति गठन भएको थियो । 

तर, औषधि व्यवस्थापन गर्न रोक लगाउँदै चिठ्ठी काटेको समितिले अझै पनि छानबिनको प्रक्रिया सुरु नगर्दा म्याद गुज्रिएको औषधि डिस्पोज गर्न नपाएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डाक्टर रामचन्द्र सापकोटाले बताए । म्याद गएको औषधि बेचेर नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्ने मनसाय नभएकै कारण फाल्नको लागि राखिएको उनले बताए । छानबिन गर्न बनाइएको भनिएको समिति अस्पतालको सम्पर्कमा नरहेकै कारण अहिले ती औषधि जहाँको त्यहीँ राखिएको मेसु सापकोटा बताउँछन् । 

औषधिको म्याद गएर सेवाग्राहीको पहुँचसम्म पुर्याउन नसक्नुमा कोरोना माहामारीका पनि कारण रहेको मेसु सापकोटाले बताए । उनले भने,‘छानबिन गरियोस् । हामी पनि समितिको छानबिनको पर्खाइमा छौँ । अहिलेसम्म पनि हाम्रो सम्पर्कमा आउनुभएको छैन ।’ 

औषधि खेर जानुमा कोरोना कारण दुई वर्षसम्म लकडाउन हुँदा अस्पतालमा आपतकालीनबाहेकका बिरामी नआएको उनले बताए । खेर गएका औषधि अधिकांश  बालबालिकामा प्रयोग हुने औषधि रहेको उनले बताए । 



हरेक वर्ष यसरी प्रयोग गर्न बाँकी रहेको औषधि डिस्पोज गर्ने गरिएको जानकारी दिँदै मेसु सापकोटाले भने, ‘हामीले विभिन्न कम्पनीबाट औषधि ल्याउँछौँ । सबै औषधिको अग्रिम पेमेन्ट भएको हुँदैन । औषधि सकिइसकेपछि दिने गरिन्छ । त्यति मात्रै होइन डेट एक्पाएर भएका औषधि उक्त कम्पनीलाई फिर्ता लिन बोलाउँदा पनि नआएर त्यतै फालिदिनू भन्ने गर्छन् । सोहीअनुसारले हामीले फोहोर व्यवस्थापन कक्षमा राखेका हौँ ।’ 

०७० सालदेखिका औषधि स्टकमा रहेको मेसु सापकोटाले बताए । ‘एक वर्ष अगाडि मगाएको औषधि हौइन त्यो । २–४ वर्षअघिदेखिका औषधिहरु स्टकमा छन्,’ उनले भने, ‘त्यसलाई हामीले अस्पतालको फार्मेसीमा राखेर बेचेका भए पो हामीले गल्ती गर्यौं भन्ने प्रमाणित हुन्थ्यो त । आवश्यकताभन्दा धेरै भण्डारण भएका कारण नसकिएको हो ।’ 



अहिले जतिपनि डेट एक्सपाएर भएका औषधि छन् । त्यसको अस्पतालले भुक्तानी नगरेको उनले बताए । ‘प्रत्येक वर्ष ७ देखि १०–१२ लाखको औषधिको डेट एक्सपाएर हुन्छ । त्यसलाई हामीले यसरी नै डिस्पोज गर्ने गरेका हौँ,’ मेसु डाक्टर सापकोटाले भने । 

यता, छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पत्र काटेको उपभोक्ता हित संरक्षण मञ्च नेपालको लिखित माग हालसम्म सम्बोधन नभएको  केन्द्रीय उपाध्यक्ष बासु खतिवडाले बताए । उपभोक्ताले निःशुल्क रुपमा पाउनुपर्ने औषधि नपाइरहेको व्यापक जनगुनासो आइरहँदा समेत वितरणमा समस्या भइरहेको हो अथवा अस्पताल प्रशासनको लापरबाही भएको हो, त्यसको सत्य तथ्य छानबिन गर्न मञ्चले माग गरेको छ । 

सो औषधिको स्रोत समेत पत्ता लगाई दोषीउपर कानुनबमोजिमको कारबाही माग गर्दै औषधि तत्काल शिलबन्दी गरी छानबिन गरियोस् भन्दै केन्द्रीय उपाध्यक्ष खतिवडाको हस्ताक्षरित निवेदन जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुझाइएको थियो । तर, सर्वदलीय समिति बनाएर आफ्नो संस्थाका एक–दुईजना कर्मचारीलाई मात्रै समितिमा राखिएको भन्दै केन्द्रीय उपाध्यक्ष खतिवडाले यसमा आफ्ना कुरा सम्बोधन हुन जरुरी रहेको बताए । 

आफ्नो संस्थाको सुनुवाई नै नभएको बताउँदै उनले भने, ‘हाम्रो लिखित प्रस्तावलाई सम्बोधन गरिएको छैन । समिति बनेको केही दिन भयो । यदि हामीले भनेका मागहरु सम्बोधन भएन भने हामी प्रतिवादमा उत्रन्छौँ ।’ आफूहरु कानुनी प्रक्रियाअनुसार अघि बढेका कारण संस्थाको हक अधिकारअनुसार छानबिन गर्न पाउनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालले माग गर्दै आएको छ ।

त्यसो त प्रमुख जिल्ला अधिकारी पाण्डेले १५ दिनभित्र औषधि सम्बन्धको छानबिन गरिने जानकारी दिए । ‘हामीले सर्वदलीय छानबिन समिति बनाएका छौँ । उक्त समितिले सबै कुराको छानबिन गरेर प्रतिवेदन तयार गर्नेछ । सोही प्रतिवेदनअनुसार हामी कारवाही गर्ने नगर्ने भन्ने पक्षमा लाग्ने छौं,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भने । हाल उक्त समितिले प्रतिवेदन तयारीको गृहकार्यमा लागिरहेको पाण्डेको दाबी छ । 

  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार १९:१५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया