जनतालाई पायक पर्ने स्थानमै स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्या भण्डारीले जनतालाई पायक पर्ने स्थानमै स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित सबै पक्षले ध्यान केन्द्रित गर्नुपर्ने बताएकी छन् ।

राष्ट्रपति भण्डारीले रोगको उपचार गर्न ठूला सहर, राजधानी र विदेश धाउनुपर्ने परिस्थितिको अन्त्य गरी जनतालाई सहज हुने स्थानमा स्वास्थ्य सेवाको आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सबै पक्ष लाग्नुपर्ने बताएकी हुन् । 

आइतबार काठमाडौंमा आयोजित चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण जयन्ती समारोहमा बोल्दै उनले मेडिकल शिक्षा र स्वास्थ्य सेवालाई जनताको आकांक्षाअनुसार व्यवस्था गर्न स्वदेशमा मेडिकल शिक्षाको प्रवर्द्धन गर्न अतिआवश्यक रहेको पनि बताइन् । 

'मुलुकमा मेडिकल शिक्षाको विस्तारको बारेमा चर्चा गर्दा हामीले सबै प्रदेश, भूगोल र क्षेत्रमा शिक्षा र सेवाको अवसरलाई विकेन्द्रीकृत गर्नु अति आवश्यक छ । रोगको उपचार गर्न ठूला सहर, राजधानी र विदेश धाउनुपर्ने परिस्थितिको अन्त्य गरी जनतालाई पायक पर्ने स्थानमै आधारभूत तथा विशेषज्ञ स्वास्थ्य सेवा सहज बनाउन हाम्रो ध्यान केन्द्रित हुनुपर्दछ’ उनले भनिन् ।

नेपालको संविधानले स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याउने कुरालाई मौलिक हकका रूपमै व्यवस्था गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले सोही अनुसारको सेवा दिनका लागि राज्यले आवश्यक नीति, कार्यक्रम र योजना तर्जुमा गरी भौतिक एवम् संस्थागत पूर्वाधारको व्यवस्था गर्न ढिलाई गर्न नहुने स्पष्ट पारिन् । 

उनले चिकित्सा शास्त्र अध्ययन संस्थानले स्वास्थ्य सेवाका लागि आवश्यक जनशक्ति निर्माणमा निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् । सो अवसरमा राष्ट्रपति भण्डारीले विशिष्टिकृत स्वास्थ्य सेवाका लागि चिकित्सा शिक्षा अध्ययन संस्थानको प्रयास, तयारी र योजनाको खुलेर प्रशंशा समेत गरिन् ।





  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार १६:२२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया