इंग्ल्याण्डसँगको पहिलो एकदिवसीयमा दक्षिण अफ्रिकाको शानदार जित

घरेलु टोली इंल्याण्डविरुद्धको एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । गएराति सम्पन्न खेलमा ऊ ६२ रनले विजयी भएको हो ।

भारतपछि इंग्ल्याण्डले भने दक्षिण अफ्रिकाविरुद्ध पनि एकदिवसीय सिरिजमा हारबाट सुरुवात गरेको छ । दक्षिण अफ्रिकासँगको पहिलो एकदिवसीयमा ३३४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै २७१ रन मात्र बनाउन सक्यो ।

जो रूट र जोनी बेरिस्टोले अर्धशतकीय पारी खेले पनि इंग्ल्याण्डलाई जित दिलाउन भने सकेनन् । ८६ रन बनाएका रूटले ७७ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । बेरिस्टोले ७१ बलमा सात चौकासहित ६३ रन जोडे ।

जेसन रोयले ४३, साम करनले १८, बायडन कार्सेले १४, कप्तान जोस बट्लर १२ र लियम लिभिङ्गस्टोनले १० रन जोडे । बेन स्टोक्सले आफ्नो करिअरको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियमा पाँच रन मात्रै बनाउन सके ।

दक्षिण अफ्रिकाका लागि एनरिक नोर्टजेले चार, ताबरेज शाम्सी र एडेन मार्कमले दुई/दुई तथा केशव महाराज र लुङ्गी एनगिडीले एक/एक विकेट लिए ।

त्यसअघि चेस्टर लि स्ट्रिटस्थित रिभरसाइड मैदानमा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३३३ रन बनायो । उसका लागि रस्सीभानडेर डुसेनले शतकीय तथा एडेन मार्कम र जान्नेमन मलानले अर्धशतकीय पारी खेले ।



११७ बलको सामना गरेका डुसेनले १० चौकासहित १३४ रन बनाए । ७७ रन जोडेका मार्कमले ६१ बलमा नौ चौका प्रहार गरे । मलानले ७७ बलमा पाँच चौकासहित ५७, डेविड मिलरले अविजित २४, क्विनटन डि ककले १९ र हेनरिक क्लासेनले १२ रनको योगदान दिए ।

इंग्ल्याण्डका लागि लियम लिभिङ्गस्टोनले दुई तथा साम करन, मोइन अली र बायडन कार्सेले एक/एक विकेट हात पारे । यो जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको सिरिजमा १–० को अग्रता  लिएको छ । दोस्रो खेल शुक्रबार हुनेछ ।  



  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार ७:१३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया