औषधालयले नौ प्रकारको औषधि निर्माण गर्दै, आयुर्वेद उपचार गर्ने सेवाग्राही पनि बढ्दै
प्रदेश आयुर्वेद औषधालयद्वारा सञ्चालित स्वास्थ्य शिविरमा सेवाग्राही

सुर्खेत स्थित प्रदेश आयुर्वेद औषधालयमा सेवाग्राहीको संख्या विगतको तुलनामा बढ्न थालेको छ । यसको मुख्य कारण शास्त्रमा उल्लेख औषधि उपचारको प्रयोग रहेको औषधालयले जनाएको छ । औषधालयले शास्त्रमा उल्लेख गरिएका जडीबुटीको प्रयोग गरी आयुर्वेद औषधि निर्माण गर्छ र यसप्रति नागरिकको चासो समेत बढ्न थालेको देखिन्छ ।

औषधालयले हालको समयमा खास गरी नौ प्रकारका औषधिको निर्माण गर्दै आएको छ । यस मध्य चार प्रकारका औषधि शास्त्रमा उल्लेख घटकहरूको प्रयोग गरी निर्माण भएका हुन् । शास्त्रमा उल्लेख स-मिश्रण विधिको प्रयोग गरी औषधालयले कर्णालीमा उपलब्ध जडीबुटीले ४ प्रकारका चूर्णको निर्माण थालेको हो ।

यसमा अविवतिकर चूर्ण, हिंगवाष्टकचूर्ण, सितोपलादिचूर्ण र त्रिफलाचूर्ण रहेका छन् । यसका साथै औषधालयले कमलकीचूर्ण, अश्वगन्धाचूर्ण, गुडुचिचूर्ण, पिडाहर तेल र अमृत चिया आफै निर्माण गर्ने गरेको छ । अमलाको प्रयोगले अमलकीचूर्ण, अश्वगन्धाले अश्वगन्धाचूर्ण, गुर्जोले गुडुचिचूर्ण र घोडमर्चा, अचैचि, गुर्जो तुलसी, शुठो, तेजपात, लेमनग्रास र गन्साइननोको मिश्रणले अमृत चिया बनाउने गरिएको प्रदेश आयुर्वेद औषधालयका प्रमुख डा. शंकरप्रसाद रिजालले जानकारी दिए । यसै गरी देवदार, तिल, एरण्ड धरिंग्रेलगायतका जडीबुटीको मिश्रणले पिडाहर तेलको निर्माण हुने डा. रिजाल बत्ताउँछन् ।

औषधालयले आ.व. २०७८/०७९ मा २१ क्युन्टल बढी आयुर्वेद औषधिको निर्माण गरेको छ । यसमा सबैभन्दा बढी गुर्जोको मुख्य मिश्रण प्रयोग गरी गुडुचिचूर्ण बनाइएको छ । यसै गरी एक सय ५० केजी अमलकीचूर्ण, दुई सय ५० केजी अश्वगन्धाचूर्ण, तीन सय ७० केजी अविपतिकरचूर्ण, दुई सय ५० केजी हिंगवाष्टकचूर्ण, तीन सय ७० केजी त्रिफलाचूर्ण, दुई सय ५० केजी अमृत चिया बनाइएको डा. रिजालले जानकारी दिए ।

आयुर्वेद प्रति नागरिकको विश्वास तथा औषधालयले आफै आयुर्वेद औषधिहरूको निर्माण गर्न थालेपछि प्रदेश आयुर्वेद औषधालयमा सेवा लिनेहरूको संख्या पनि बढ्न थालेको छ । विगत चार वर्षमा प्रदेश आयुर्वेद औषधालय मार्फत सेवा लिएकाहरूको संख्या हेर्ने हो भने करिब ८० प्रतिशत सेवाग्राहीको संख्यामा वृद्धि भएको औषधालय प्रमुख डा. रिजाल बताउँछन् । 

औषधालयबाट खास गरी स्तनपायी आमा, जेष्ठ नागरिक सेवा, पुर्वकर्म/पंचकर्म, शल्य/क्षारसुत्रलगायतका विषयमा सेवा प्रदान गरिँदै आइएको छ । औषधालयबाट प्रवाह सेवाहरू मध्य ज्येष्ठ नागरिक सेवा लिनेहरूको संख्या सबैभन्दा धेरै छ । आ.व. २०७८/०७९ मा सात हजार चार सय १२ जना नागरिकले ज्येष्ठ नागरिक सेवा लिएका छन् ।



२०७५/०७६ मा औषधालय मार्फत २२ हजार ९२ जनाले सेवा लिएका थिए । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा भने ४० हजार ८६ जनाले औषधालय मार्फत आयुर्वेद सेवा लिएको औषधालयका प्रमुख डा. रिजालले जानकारी दिए । यसै गरी २०७६/०७७ मा सेवाग्राहीको संख्या २७ हजार तीन सय ५५ थियो । २०७७/०७८ मा भने औषधालय मार्फत ३० हजार चार सय ३६ जनाले सेवा लिएको डा. रिजालले जानकारी दिए ।

आयुर्वेद प्रति नागरिकको विश्वासमा वृद्धि तथा प्रदेश आयुर्वेद औषधालयमा सेवाग्राहीको चाप बढेपनि औषधालय हालसम्म पनि अस्पतालको रूपमा विकास हुन सकेको छैन । डा. रिजाल भन्छन्, ‘हामी आफै आयुर्वेद औषधिहरूको निर्माण गरिरहेका छौँ । यसप्रति सेवाग्राहीको पनि चाप बढेको छ । औषधालयलाई अस्पतालका रूपमा विकास गरिनुपर्ने हालसम्म पनि भएको भने छैन ।’



औषधालयले आफ्ना उत्पादनको गुणस्तर कायम राखी औषधिको प्रभावकारिता बनाई राख्नका लागि ‘प्याकेजिङ’ को पनि व्यवस्था गरेको छ । अस्पतालको आफ्नै औषधि वितरण शाखा पनि छ । आफूले उत्पादन गरेका तथा अन्य आयुर्वेद औषधिहरू गरी कुल ३९ प्रकारका औषधि औषधालयमा निःशुल्क रूपमा पाउन सकिन्छ । औषधालयलाई अस्पतालको रूपमा विकास नगरिँदा भने सेवाग्राही मर्कामा रहेको डा. रिजाल बताउँछन् । उनले भने, ‘कतिपय उपचारका लागि सेवाग्राहीलाई प्रत्यक्ष निगरानी गरी उपचार गर्नुपर्ने हुन्छ । तर अस्पतालको रूपमा विकास नहुँदा भने हामीले सेवाग्राहीको नियमित निगरानी गर्न सकेका छैनौँ । त्यसैले पनि अस्पतालको रूपमा विकास आवश्यक छ ।’

औषधालयका लागि आवश्यक दरबन्दी समेत प्राप्त भएको छैन । यस विषयलाई औषधालयले आफ्नो प्रमुख समस्याका रूपमा लिएको छ । औषधालयसँग हाल १३ जनाको जनशक्ति छ । जसमध्ये आठ जना मात्र स्वीकृत दरबन्दी मार्फत आएका हुन् । बाँकी जनशक्ति औषधालयले सेवा करार, कार्यक्रम करार, सशर्त कार्यक्रम करार र समितिलगायत तर्फबाट करार सेवामा लिएको डा. रिजालले जानकारी दिए ।

  • प्रकाशित मिति : साउन ७, २०७९ शनिबार १०:४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया