logo-img

कति फलदायी हुन्छन् नेपालमा नाट्य महोत्सव ?

काठमाडौं– राजधानीका थिएटर अहिले अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तयारीमा जुटेका छन् । १३ देखि २० फागुनसम्म सञ्चालन हुने महोत्वसमा दक्षिण एसियन र युरोपियन देशका नाटक सहभागी हुनेछन् ।

‘सामाजिक रुपान्तरणका लागि कला’ नारा राखेर गर्न लागिएको अन्तर्राष्ट्रिय नाट्य महोत्वसवमा राजनीतिक र सामाजिक मुद्दामा केन्द्रित नाटकलाई प्राथमिकतामा राखिएको बताउँछन्, महोत्सवका संयोजक सोमनाथ खनाल । 

महोसत्वमा दक्षिण एसिया र युरोपका नाटक सहभागी हुने जानकारी दिँदै खनालले भने, ‘ती देशका नाटकबाट नेपाली दर्शकले त्यहाँको राजनीतिक र सामाजिक मुद्दा बुझ्नेछन् ।’ महोत्सवमा नेपालसहित ९ देशका ३० वटा नाटक मञ्चन हुनेछन् ।



नेपाली रंगकर्मीलाई अन्तर्राष्ट्रिय रंगमञ्चले उठाइरहेका मुद्दासँग परिचित गराउन पनि महोत्सव प्रभावकारी हुने विश्वास रंगकर्मीहरुको छ ।

विश्व रंगमञ्चमा नेपाली कला पुर्याउन पनि महोत्सव प्रभावकारी हुने बताउँछन्, शिल्पी थिएटरका निर्देशक घिमिरे युवराज । ‘विश्वभरका थिएटरको जमघट होस्, नयाँ विषयमा छलफल होस् र केही सिकियोस् भनेर पनि महोत्सव गरिएको हो,’ युवराज भन्छन्, ‘फिल्म, पुस्तक सजिलैसँग हेर्न र पढ्न पाइन्छ । तर, नाटक हेर्न पाइँदैन । त्यसैले, हाम्रा लागि यो ठूलो अवसर हो ।’

रंगमञ्चमा नयाँ पुस्तालाई थप क्रियाशील बनाउन पनि अन्तर्राष्ट्रिय रंगमञ्चसँग परिचित हुनुपर्ने बताउँछन्, मण्डला थिएटरका संयोजक राजन खतिवडा । उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय नाटक हेरिसकेपछि नयाँ पिँढीका रंगकर्मीहरुले नयाँ सोच र नयाँ शिल्पसहित काम गर्न सक्नेछन् ।’



महोत्वसमा नाटकका प्राविधिक पक्षमाथि पनि बहस गरिने बताउँछन्, संयोजक खनाल । नाटक प्राविधिक विषय पनि भएको बताउँदै उनी भन्छन्, ‘रंगकर्मीलाई प्राविधिक पक्षमा पनि पोख्त बनाउने उद्देश्यसहित हामीले ‘हाइली एक्सपेरिमेन्टल नाटकहरुलाई प्राथमिकता दिएका छौँ ।’ यिनै विषयमा छलफल गर्नका लागि महोत्सवमा ओपन एअर कल्चरल पर्फमेन्स, निर्देशकहरुसँग अन्तर्क्रियाजस्ता कार्यक्रम पनि राखिएको खनालले बताए ।

फागुन १३ देखि राजधानीका सातओटा थिएटरको आयोजनामा हुने महोत्वसका लागि नेपालसहित ९ देशका ३० ओटा नाटक छनोट भइसकेको खनाल बताउँछन् ।



तीमध्ये नेपालबाट १२ ओटा र अन्य देशबाट १८ ओटा छनोटमा परेका बताउँदै उनले भने, ‘भारतबाट भने अन्य देशको तुलनामा केही बढी नाटकहरु ल्याउँदै छौँ ।’ 

यसअघि, मण्डला थिएटरको सुरुवात र गुरुकुलको अन्तिम महोत्वसको रुपमा सन् २०१२ मा नाट्य महोत्सव भएको थियो । त्यसपछि, २०७४ चैतमा सर्वनाम थिएटरले ‘अन्तर्राष्ट्रिय सोलो थिएटर फेस्टिभल’ गरेको थियो ।

  • प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार १९:३८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया