अन्तर्राष्ट्रिय कानुनको पालनामा नेपालको सुस्पष्ट दृष्टिकोण छ : राष्ट्रपति भण्डारी
फाइल तस्वीर

राष्ट्रपति विद्या भण्डारीले अहस्तक्षेप र अनाक्रमणको नीतिमा मात्र विद्यमान अन्तर्राष्ट्रिय कानुनको पालना एवं विकासमा योगदान गर्दछ भन्ने नेपालको सुस्पष्ट दृष्टिकोण रहेको बताएका छन् ।

राष्ट्रपति भण्डारीले नेपालले करिब ७ दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आएको उल्लेख गर्दै संयुक्त राष्ट्र संघको वडापत्र, पञ्चशीलको सिद्धान्तमा आधारित सहअस्तित्व र विश्वबन्धुत्वको भावना एवम अहस्तक्षेप र अनाक्रमणको नीतिमा मात्र विद्यमान अन्तर्राष्ट्रिय कानुनको पालना हुनेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका हुन् ।

‘अन्तराष्ट्रिय कानुनको विकासमा शक्तिको भूमिका एसियाको सन्दर्भ’ विषयक एक दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले विशिष्ट ऐतिहासिक अनुभव, अन्तर्राष्ट्रिय सम्बन्धका आयाम एवं भौगोलिक अवस्थितिको मौलिक परिवेशमा आधारित भई नेपालले अन्तर्राष्ट्रिय कानुनको विकासमा ठोस योगदान गर्दै आएको पनि स्मरण गराइन् ।

भूपरिवेष्ठित मुलुकका लागि निर्वाध पारवहन अधिकार प्रत्याभूति गर्ने समुद्रसम्बन्धी कानुनको निर्माण र विकास गर्न नेपालले खेलेको ऐतिहासिक भूमिका स्मरणीय रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले त्यस काममा नेपाललाई सहयोग गर्ने सबै मित्र राष्ट्रप्रति आधार पनि व्यक्त गरिन् ।

उनले न्यायमा आधारित विश्व व्यवस्था हुनुपर्छ भन्ने मान्यतालाई सो अन्तर्राष्ट्रिय सम्मेलनले विवेचना गरेर ठोस धारणा तय गर्ने विश्वाससमेत व्यक्त गरिन् ।

सम्मेलनमा बोल्दै सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले अन्तर्राष्ट्रिय कानुनले राष्ट्रहरूबीचमा हुने व्यापारिक सम्बन्ध, राजनीतिक सम्बन्ध र अन्य पारस्परिक सम्बन्धलाई सुदृढ बनाउने विश्वास व्यक्त गरिन् । उनले सो सम्मेलनले विश्व व्यवस्थालाई नै न्यायसम्मत ढंगले अघि बढाउन सघाउ पुर्‍याउने धारणासमेत राखिन् ।



न्यायाधीश प्रधानले राष्ट्रहरूबीचमा मानव अधिकारको प्रत्याभूति दिलाउन पनि अन्तर्राष्ट्रिय कानुनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरिन् ।



  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार १३:४९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया