मिटरब्याजी साहुको आतंकमा नवलपुरवासी, सिंहदरबारलाई पीडा सुनाउन फेरि आइपुगे काठमाडौं
७ लाख ऋणको ३ करोड ब्याज माग्दै सर्वाेच्चमा मुद्दा
फरकधार / १८ साउन, २०७९

उमेरले ७६ कटेका नवलपुरको सरावल गाउँपालिका–७ का प्रेम नारायण कोइरी प्यारालाइसिसका रोगी छन् । ढल्किँदो उमेरसँगै रोगले शिथिल पारेको शरीर त्यसैमाथि मिटर ब्याजको भारीलाई उनलाई निसासिने गरी थिचेको छ । 

सात वर्षअघि एक साहुबाट ९ लाख मिटर ब्याज ऋण लिएका प्रेम नारायणलाई अहिले त्यही ऋणले भक्कानो फुटाउँछ । उनी कोही नयाँ मान्छे भेट्दा मिटर ब्याजका तमसुक देखाउँदै भक्कानिन्छन्, आँसु झार्छन् । सँगै उनकी जहान फेकनी कोइरी (६५) पनि आफूलाई सम्हाल्न सक्दिनन् । उनी श्रीमानलाई ‘भैगो नरुनुस्’ भन्छिन् तर फेकनीका आँखा पनि ओभाना हुँदैनन् ।  

प्रेम र उनकी श्रीमती फेकनीलाई मिटर ब्याजको दशा लागेको करिब सात वर्ष बितेको छ । ०७२ सालमा स्थानीय साहु बसन्त कोहारबाट घरको ढलान गर्न भनेर प्रेम नारायणले ९ लाख ८० हजार मिटर ब्याजमा कमाइ खाने खेत दृष्टि बन्धक गरी ऋण लिए । प्रेम नारायणले यो अवधिसम्म तीनपटक गरी १७ लाख २५ हजार साहुलाई बुझाइसकेका छन् । तर, साहुले अझै उनको जग्गा फुकुवा गर्न मानेको छैन । साहु अझै ४५ लाख थप माग्ने गरेको प्रेम नारायण बताउँछन् । 





‘२०७२ सालमा घर ढलान गर्न बसन्त कोहारबाट हामीले ऋण लिएका थियौँ । एकपटक ४ लाख, अर्कोपटक १० लाख र अन्तिमपटक २ लाख २५ हजार गरी १७ लाख २५ हजार साहुलाई बुझाइ सक्यौँ । तर, अझै पनि हाम्रो जग्गा साहुले फुकुवा गर्न मान्दैनन् । रोडसँग जोडिएको जमिन सस्तोमा बेचेर यत्रो पैसा बुझायौँ अझै ४५ लाख थप दिए मात्र जग्गा फुकुवा गर्छु नत्र हुँदैन भन्छ । यत्रो पैसा अब म कहाँबाट ल्याऊँ?,’ प्रेम नारायणले आँसु झार्दै भने, ‘मेरो एउटै छोरो छ । म ७६ वर्षको भएँ, प्यारालाइसिसको रोगी छु । म मरेपछि जग्गा हडप्न सजिलो हुन्छ भनेर साहुले जग्गा फुकुवा गर्न मानिरहेका छैनन्, मेरो मृत्यु पर्खिरहेका छन् ।’

मिटर ब्याजकै ऋणले हृदयाघात भएर बिते सरुफुल्लाह मियाँ 

नवलपुरकै प्रतापपुर गाउँपालिका–४ का सरुफुल्लाह मियाँले स्थानीय साहु जगदीश बानियाँबाट २०७२ मा मिटर ब्याजमा ६ लाख ऋण लिए । छोरीको बिहेमा दाइजो दिनका लागि मियाँले मिटर ब्याजमा ऋण लिएका थिए । मियाँको पनि जग्गा मालपोतमा दृष्टिबन्धक छ । पटकपटक गरी मियाँले ६ लाखको ऋणको २२ लाख मिटर ब्याज तिरिसकेका थिए । 

साहुले थप २९ लाख मिटर ब्याजको रकम माग्दा मियाँलाई हृदयाघात भएर मृत्यु भएको उनकी पत्नी खुस्बु निशाले बताइन् । ‘छोरीको बिहे गर्दा ६ लाख ऋण लिएका थियौँ । २२ लाखसम्म जग्गा जमिन बेचेर तिर्यौँ । साहुले घरमै आएर थप २९ लाख ऋण पुग्योभन्दा उहाँलाई हृदयाघात भयो,’ खुस्बुले भनिन्, ‘त्यही ऋण तिर्न भनेर भएको एउटै छोरो विदेश गएको छ । साहुले अझै ३० लाख मागि रहेको छ । सरकारले हाम्रो पीडा सुनिदिए हुन्थ्यो ।’  

सरुफुल्ला मियाँले २०७२ सालमा ६ लाख ऋण लिए पनि मालपोत कार्यालयमा भने १ वैशाख २०४६ मा एकैदिन तीनवटा दृष्टि बन्धक खडा गरिएको भेटिएको छ । ४ लाखको एउटा र आठ/आठ लाखको दुईवटा दृष्टि बन्धक खडा गरिएको मालपोत कार्यालयबाट प्राप्त कागजातबाट खुलेको छ । 

२०७२ सालमा ऋण लिएको भएपनि २०४६ सालमै कसरी मालपोत कार्यालयमा दृष्टि बन्धक तयार भयो खुस्बु यस बारेमा अज्ञात छिन् । आफ्नो श्रीमानको हस्ताक्षर र ल्याप्चेसमेत किर्ते गरेर दृष्टि बन्धक बनाएको बुस्बुले बताइन् ।

केही दिनअघि केही युवाहरूको सक्रियतामा मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले मालपोत कार्यालयबाट सबै मिटर ब्याज पीडितका कागजात झिकाउँदा उक्त रहस्य खुलेको हो । 

मजदुर किसानलाई ठग्नको लागि मालपोत कार्यालयका कर्मचारीकोसमेत मिलेमतो रहेको संघर्ष समितिका सदस्य निर्ग नवीन बताउँछन् ।

१ वैशाख २०४६ मा एकैदिन मालपोत कार्यालयमा खडा गरिएका तीनवटा दृष्टिबन्धक

सात लाख ऋणको ३ करोड ब्याज माग्दै सर्वाेच्चमा मुद्दा 

नवलपुरका जितबहादुर थापा मगरले २०७२ मा साहु हेमराज थापा क्षेत्रीसँग घर बनाउन ७ लाख ऋण लिए । ऋण तिर्न भनेर नै जितबहादुर विदेश भासिए । १३ वर्ष ओमानमा बसेर ३१ हजार ५ सयका दरले ६ पटक र १ लाख ३६ हजार एक पटक गरी ३ लाख २५ हजार चुक्ता गरे । यता साहु हेमराज थापा क्षेत्रीले जितबहादुरसँग गराएको दृष्टिबन्धकको सम्झौता पदम पाणी खरेलसँग बेचेको भेटियो । 

सोही आधारमा २ जेठ २०७६ मा जितबहादुरले हेमराजविरुद्ध जिल्ला अदालत नवलपरासीमा दूषित लिखत बदरको मुद्दा दर्ता गरे । उक्त मुद्दाको फैसला जितबहादुरकै पक्षमा भयो तर साहु हेमराज थापाले सोही मुद्धा सर्वाेच्चमा पुनरावेदन दिए । अहिले मुद्दा विचाराधीन छ । हेमराजले तीन करोड माग गर्ने गरेको जितबहादुर बताउँछन् । 

‘सात लाख बुझ्न आउँभन्दा लिन आउँदैनन्, घरका मान्छेलाई धम्की दिने गरेको छ । हाम्रो सबैतिर पहुँच छ भनेर साहुले थर्काउँछन्,’ जितबहादुरले भने । 

सिंहदरबारलाई सुनाउन काठमाडौं आइपुगे पीडित

नवलनुरमा प्रेमनारायण, खुश्बु र हेमराज जस्ता सयौँ मिटरब्याजबाट पीडित छन् । यहाँ मात्र नभएर तराईका अधिकांश जिल्लामा मिटरब्याजीहरूको गिरोह रहेको यस प्रकरणका जानकार निर्ग नवीन बताउँछन् । नवलपुरका मिटर ब्याज पीडितहरू धर्ना दिन मंगलबार काठमाडौं आएका छन् । 

सरावल, सुस्ता र प्रतापपुर गाउँपालिका तथा रामग्राम र बर्दघाट नगरपालिकाका ६० जना किसान धर्नाका लागि  काठमाडौं आइपुगेका हुन् । जिल्ला प्रशासन र प्रहरी कार्यालय नवलपरासीले मिटर ब्याजको नामामा किसानलाई भूमिहीन बनाउने साहुविरुद्ध निष्पक्ष छानबिन नगरेपछि उनीहरू काठमाडौं आएका छन् ।

प्रशासन र प्रहरीले पीडकहरूमाथि निष्पक्ष छानबिन गर्नुको साटो उल्टो उन्मुक्ति दिन भूमिका खेलेको पीडितको गुनासो छ । पीडितहरू पहिलो चरणमा बुधबारदेखि माइतीघर मण्डलमा शान्तिपूर्ण आन्दोलन गर्ने र सरकारले बेवास्ता गरे प्रधानमन्त्री कार्यालय बालुवाटार नै घेर्ने योजनामा छन् । 

यसअघि उनीहरू डेढ महिना  मिटरब्याजी साहुविरुद्ध दुई साता माइतीघर मण्डलामा धर्ना बसेका थिए । पछि गृह मन्त्रालयले आश्वासन दिएपछि धर्ना स्थगित गरेर घर फर्किएका थिए । तर, पनि उनीहरूको समस्या भने समाधान भएन । फेरि पीडित किसान न्यायका लागि धर्ना दिन पशुपति गौशालामा पुगिसकेका छन् । 

  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार १३:१३:२८,   अन्तिम अपडेट : साउन १८, २०७९ बुधबार १३:१९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया