बिहीबार बिहान नेपालगञ्जदेखि काठमाडौंतर्फ उडेको श्री एयरलाइन्सको विमानभित्र धुवा देखिएपछि विमानलाई पुनः नेपालगञ्ज विमानस्थल फिर्ता गरियो ।
बिहान ९ बजेर ४९ मिनेटमा काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमानमा धुँवा निस्किएपछि चालक दलले उक्त विमानलाई ६ मिनेटमै नेपालगन्ज विमानस्थलमा फर्काएका थिए । विमान सकुशल विमानस्थल फर्किएको थियो ।
सोही विमानमा सुर्खेतमा युवा व्यवसायी कमल खड्कासमेत सवार थिए । यस विषयमा फरकधारसँग उक्त यात्राका विषयमा खड्काले गरेको कुराकानीको सम्पादित अंशः
बिहान ९:१५ बजेको फल्याइट थियो, तर ९:४० बजे हामी उडेका थियौँ । फ्लाइट त्यही बेला लगभग आधा घण्टाजति डिले नै थियो । जहाजमा सबै यात्रुलाई चढाइसकेपछि हामी लगभग १० मिनेट जति आकाशमा उड्यौँ ।
म र वीरेन्द्रनगरमा युवा व्यवसायी बखत शाही प्लेनको अन्तिममा १९ र २० नम्बरको सिटमा थियौँ । मौसम पनि सफा नै थियो । तर, प्लेनले आकाशमा एक्कासि दायाँ-वायाँ गर्न थाल्यो । र, हामीलाई शंका लाग्यो ।
म नियमित रूपमा प्लेनको यात्रा गरिरहन्छु । तर, यसपटकको यात्रामा चाहिँ प्लेन अलि बढी नै हल्लिएको महशुस गरे । यसबारे एयरहोस्टेज्लाई पनि प्रश्न गर्यौँ । तर, उनको जवाफ, ‘केही भएको छैन, केही भएको छैन’ भन्ने मात्र आयो ।
जहाजले टेक अफ गरेपछि जुन आवाज गर्छ, यसपालिको आवाज पनि भिन्दै थियो । जहाजले उचाइ लिन नसकेको झैँ लाग्थ्यो ।
सो समयमा प्लेन एक्कासि डाइभर्ट भयो, प्लेनका पांग्रा खोलिएको महशुस गर्यौँ । यात्रुले जहाजमा समस्या आएको पत्तो पाइहाले । अनि प्लेनमा चिच्याहट सुरु भयो । प्लेनमा धुँवा भरिन थाल्यो ।
एयर होस्टेज्लाई जहाजको ढोका खोल्न भन्यौँ । उनले खोल्न इन्कार गरिन् । हामी आत्तिसकेका थियौँ । प्लेनमा धुँवा भरिँदै थियो । जहाज दायाँ-बायाँ गर्दै थियो ।
तल हेर्यो, ठूलो नदी देखिन्थ्यो । प्लेन दायाँ-बायाँ गरेको देख्दा, त्यही नदीमा ल्याण्ड गर्लाजस्तो लाग्यो ।
तल झरेको जहाज, एक्कासी पुनः माथि उड्यो । अनि दायाँ-बायाँ गर्न थाल्यो ।
हामी निकै आत्तिएका थियौँ । प्लेनभित्र सबै कराउँदै थिए ।
केही बेरपछि नेपालगञ्जको एयरपोर्ट देखियो । एयरपोर्ट देख्नासाथ एयरहोस्टेज्लाई ‘ढोका खोल्नुहुन्छ कि म लात्ताले हानौँ भनेँ’ । ‘त्यसो नगर्नुस् भन्दै’ एयरहोस्टेज् पनि रुने जस्तै गर्दै थिइन् । ‘नहात्तिनुस्’ भन्दैगर्दा प्लेन रनवेमा दौड्न थाल्यो ।
भित्र धुँवा भरिएको थियो, कोही बेहोस भए, कोही के ? चिच्चाहट चलिरहेको थियो ।
यो समयमा सबैभन्दा आफू पहिले बचौँ भन्ने हुँदो रहेछ । यो अवस्थामा अरूलाई बचाऊँ भन्ने आउँदो रहेनछ । एयरहोस्टेज्लाई धेरै कराएपछि उनले रनवेमा चलिरहेको प्लेनको ढोका खोल्दै थिइन् ।
प्लेन पूर्णरूपमा रोकिएको थिएन । हामी दुई जना हाम फाल्यौँ । हामी झरेको लगभग ४० मिटर पर गएर प्लेन रोकियो । त्यसपछि अरू यात्रु पनि झर्न थाले ।
पाइलट राम्रै रहेछन् । साथै, भगवानको कृपाले नयाँ जुनी पाएको महशुस भइरहेको छ । अहिले म पुनः वीरेन्द्रनगर फर्किएको छु । प्लेनबाट हामफालेकोले हल्का चोटपटक लागेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।