मधेस प्रदेश : पौने ३ करोडमा किनेका उपकरण र सफ्टवेयर दुई वर्षदेखि प्रयोगविहीन
फाइल तस्वीर

डिजिटल प्रशासनिक सेवा प्रवाहलाई ध्यानमा राखी दुई वर्षअघि मधेस प्रदेश सरकारका मन्त्रालयले खरिद गरेको विभिन्न उपकरण र सफ्टवेयर अहिलेसम्म प्रयोगमा ल्याइएको छैन ।

करिव पौने ३ करोडमा खरिद गरिएका उपकरण र सफ्टवेयर मन्त्रालय र मातहतका कार्यालयले अहिलेसम्म प्रयोगमा ल्याउन नसकेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह तथा सञ्चार मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लगायतले आर्थिक वर्ष २०७७/७८ मा २ करोड ७५ लाखमा खरिद गरेका उपकरण र सफ्टवेयर अहिलेसम्म प्रयोगमा नल्याइएको पाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ६६ लाख १८ हजारमा कार्यालय आयोजना व्यवस्थापन, अफिस अटोमेसन लगायतका ६ प्रकारका सफ्टवेयर खरिद गरे पनि ती सफ्टवेयर अहिलेसम्म प्रयोगमा आएका छैन । अब सफ्टवेयरको सुधार तथा मर्मत सेवा अवधिसमेत समाप्त भइसकेको छ ।

त्यस्तै, गृह तथा सञ्चार मन्त्रालयले मधेस भवनको सुरक्षाका लागि सुरक्षा सम्बन्धी डिटेक्टर, स्क्यानर, कम्प्युटर लगायतका ९८ लाख ४४ हजारको उपकरण खरिद गरेको छ । तर, एक वर्षअघि खरिद गरिएका ती उपकरण जडान अहिलेसम्म भएका छैन । ती सामानको प्राविधिक परीक्षण नगरी भुक्तानी दिइएको पाइएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको उपभोक्ता हित संरक्षण निर्देशनालयले पनि १३ लाख ९६ हजार रुपैयाँमा ३ वटा सफ्टवेयर खरिद गरेको छ । तर, ती सफ्टवेयर पनि अहिलेसम्म प्रयोगमा आएका छैनन् ।



त्यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पनि नापी सर्भे प्रयोजनका लागि ९७ लाख २० हजारमा ड्रोन क्यामेरा लगायतका उपकरण खरिद गरेको थियो । ती पनि प्रयोग आएका छैनन् ।

यस सम्बन्धमा गृहमन्त्री भरतप्रसाद साहले अघिल्ला मन्त्रीहरूले खरिद गरेका उपकरण र सफ्टवेयर अहिलेसम्म प्रयोगमा नल्याएको स्वीकार गरेका छन् । उनले भने, ‘सफ्टवेर प्रयोग गर्ने विषयमा सुरक्षा निकायसँग छलफल गरेका छौं । चाँडै भवन निर्माण गरेर प्रयोगमा ल्याउँछौं ।’



  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार १७:११:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया