जनै पूर्णिमा तेह्रथुमको छथर गाउँपालिकाका धामी झाँक्रीहरूको लागि महान् पर्व हो । उनीहरू नाग पञ्चमीदेखि धामी घरघरमा थान लगाएर १० दिनसम्म निरन्तर चिन्ता बस्ने गर्ने गरेका छन् । १० दिनको रात आध्यात्मिक ज्ञान आर्जनका लागि विभिन्न देवस्थलहरुमा गुफा बस्न जाने गरेका छन् ।
यहाँका धामीहरू विशेष गरी मार्ग पोखरीमा गुफा बस्ने र ज्ञान लिन गरेको धामी कान्छाबहादुर लिम्बुले बताए । उनी भन्छन्, ‘हामी १० दिनसम्म घरघरमा चिन्ता बस्छौँ । १० दिनको रात गुफा बस्न जाने गुफा बस्न जान्छौँ, नजाने गुरुकोमा जाने गर्छौँ र पूर्णिमाको दिन शुक्रबार बजारमा रहेको रत्नदेवी मन्दिरमा आएर पूजा गर्छौँ ।’
उनले आफ्ना धेरै चेलाहरूलाई ज्ञान आर्जन गर्न गुफा बसाउन लैजाने गरेका छन् । खास गरी भर्खर उत्रिँदै गरेका धामीहरू ज्ञान आर्जनका लागि गुफा बस्ने गर्छन् । सबैले मान्ने गुरुले आफ्ना चेलाहरूलाई आध्यात्मिक ज्ञान आर्जनका लागि गुफा बसाउन लाने गर्छन् । पूर्णिमाको अघिल्लो दिन रात गाउँका सबै धामीहरू भेला भएर गुफा तथा गुरुकोमा पुग्ने गरेका छन् । गुफा बस्न छथरको मार्ग पोखरी लगायत विभिन्न देवस्थलहरूमा पुग्ने गरेका छन् ।
पूर्णिमाको दिन गुफाबाट फर्किएपछि बजारको वरिपरि नाच्दै घर फर्किने गरेका स्थानीयहरूले बताउने गरेका छन् । तेह्रथुमको छथर शुक्रबारेमा भदौरे पूर्णिमा (जनै पूर्णिमा)को मुख्य आकर्षण नै धामी झाँक्रीको कला प्रदर्शन हो ।
धामी झाँक्रीहरूको मौलिक कलालाई संरक्षण,संवर्द्धन तथा प्रोत्साहन गर्न रत्नदेवी युवा सेवा समाज छथर शुक्रबारेले विगतका वर्षदेखि सम्मान कार्यक्रम गर्दै आएको छ । विभिन्न ठाउँबाट आएका धामीहरूलाई बजारमा कार्यक्रमका साथ सम्मान रूपमा नगद प्रदान गर्दै आएको समाजका अध्यक्ष अनिल आंखेवाले बताए ।
‘हामीले मौलिक कला,संस्कृतिलाई प्रवर्द्धन, संरक्षण तथा प्रोत्साहन गर्ने उद्देश्यका साथ विगतका वर्षदेखि धामीहरूलाई सम्मान गर्दै आएका छौँ र यस वर्ष पनि गरेका हौँ । हाम्रो सानो सम्मानले धामीहरूलाई प्रोत्साहन पुग्छ भन्ने विश्वास छ,’ उनले भने ।
तेह्रथुम, धनकुटा र पाँचथर लगायतका जिल्लाका धामीहरू भदौरे पूर्णिमा आउने गर्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।