राजाको शतकको बाबजुद भारतविरुद्ध जिम्बाब्वे पराजित

भारतविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा घरेलु टोली जिम्बाब्वे १३ रनले पराजित भएको छ । गएराति सम्पन्न यो हारसँगै उसले सिरिज ३–० ले गुमायो । तेस्रो एकदिवसीयमा २९० रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले ४९.३ ओभरमा सबै विकेट गुमाएर २७६ रन बनायो ।

उसका सिकन्दर राजाले ९५ बलमा ९ चौका र तीन छक्कासहित ११५ रनको शतकीय पारी खेले पनि टोलीको हार टार्न सकेनन् । राजाको यो एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको छैटौँ शतक हो ।

त्यस्तै, सेन विलियम्सले ४५, ब्राड इभन्सले २८, कप्तान रेगिस चकाब्वाले १६, टोनी मुन्योङ्गाले १५, ल्यूक जोन्गवेले १४ र टाकुड्जवान्से काइटानोले १३ रन जोडे ।

भारतका लागि आवेश खानले तीन, दीपक चाहर, कुलदीप यादव र अक्षर पटेलले दुई/दुई तथा शार्दुल ठाकुरले एक विकेट हात पारे । त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २८९ रन बनाएको थियो ।

उसका लागि शुभमन गिलले ९७ बलमा १५ चौका र एक छक्कासहित १३० रनको शतकीय पारी खेले । यो उनको  सिनियर टोलीबाट पहिलो अन्तर्राष्ट्रिय शतक हो ।

इशान किशनले ६१ बलमा ६ चौकासहित ५० रनको अर्धशतकीय पारी खेले । शिखर धवनले ४०, कप्तान केएल राहुलले ३० र सञ्जु स्यामसनले १५ रन जोडे ।



जिम्बाब्वेका लागि ब्राड इभन्सले पाँच तथा भिक्टर न्युउछी र लुक जान्गवेले एक/एक विकेट हात पारे । यसअघि भारत १० र पाँच विकेटले विजयी भएको थियो । 



  • प्रकाशित मिति : भदौ ७, २०७९ मंगलबार ६:४२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया