नेपालको जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात गर्न सकिन्न : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात नहुने बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको छलफलमा उनले यस्तो बताएका हुन् । 

समितिले तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाका सम्बन्धमा छलफल आयोजना गरेको थियो । सो क्रममा उनले पछिल्लो समय जलविद्युत आयोजना बनाउने क्रममा सरकारको नीति नियमको कारण परियोजना महँगो हुँदै गएको बताए । 

जलविद्युत आयोजना निर्माण गर्दा प्राकृतिक स्रोत प्रयोग गर्न नपाउने, वनको जग्गा प्राप्तिमा अर्बौं रुपैयाँ आयोजनाले खर्च गर्नुपर्ने भएकाले आयोजनाको लागत बढ्ने र विद्युत महँगो हुने निर्देशक घिसिङल बताए । नेपालको इनर्जीको स्रोत भनेकै जलविद्युत भएकाले जलविद्युत सस्तो वा महँगो बनाउने सरकारको गतिविधिले निर्धारण गर्ने बताए । 

जलविद्युत महँगो हुँदा जनतालाई समेत महँगो पर्ने बताउँदै घिसिङले जलविद्युत उत्पादन गरेर जति सस्तो बनाउन सकियो त्यति नै भारत र बंगलादेशमा निर्यात हुने दाबी गरे । बंगलादेशमा विद्युत निर्यात गर्नको लागि भारतको भन्दा सस्तोमा विद्युत दिन सक्नुपर्ने उनको भनाइ छ । 

५० अर्बको तनहँु जलविद्युतमा करिब ३ अर्ब वन र सरकारी जग्गा र निजी जग्गामा ३ अर्ब गरी ६ अर्ब रुपैयाँ मुआब्जामा नै खर्च भएको उनले बताए । सरकारकै जग्गाका लागि आयोजनाको ६ प्रतिशत लागत बढ्नु भनेको आयोजनाबाट उत्पादन हुने विद्युत महँगो हुनु भएको उनको भनाइ छ । 

कालिगण्डकीको कुनै पनि स्रोत प्रयोग गर्न नपाए कालिगण्डी करिडोरमा कुनै पनि परियोजना सस्तोमा बन्न नसक्ने निर्देशक घिसिङले बताए । परियोजना बनाउने स्थानमा भएका स्रोतको आवश्यकताअनुसार प्रयोग गरे मात्रै त्यसबाट पैसा आउने उनको दाबी छ । 
 





  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार १७:५६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया