अर्थमन्त्री शर्माको दाबी : आर्थिक सूचकांक सकारात्मक बन्दै गइरहेका छन्
'होसियारी अपनाएका कारण मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा जानबाट जोगियो'
फाइल तस्वीर

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रका सबै सूचकांक सकारात्मक हुँदै गएको दाबी गरेका छन् । अर्थमन्त्री शर्माले सरकारले समयमै होसियारी अपनाएका कारण मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नदिएको समेत बताए । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्र समाप्त नै हुन्छ भन्ने ठूल्ठूला आवाज उठिरहेका बेला सरकारले आवश्यक नीति लिएर त्यसलाई बिग्रन नदिएको जिकिरसमेत गरे । 

उनले भने,  ‘नेपालको अर्थमन्त्री सुधारको बाटोमा अघि बढिरहेको छ । आर्थिक सूचकांक सकारात्मक बन्दै गइरहेका छन् । चाडपर्वको समय आएकाले रेमिटेन्स थपिने र खर्च पनि बढने अवस्था छ । तरलताको समस्या केही हदसम्म कायमै छ । यसलाई सहज बनाउनका लागि समयमै बजेट खर्च गर्ने कुरामा विशेष ध्यान दिएका छौं ।’

तरलताको समस्या केही हदसम्म अझै कायमै रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले त्यसलाई हल गर्न सरकारले समयमै बजेट खर्च गर्ने कुरामा विशेष ध्यान दिएको पनि बताए । 

अर्थमन्त्री शर्माले निर्यात प्रवर्द्धन गर्नका लागि बनाइएको नीतिगत निर्णय तत्काल कार्यान्वयन गर्न पनि उद्योगी, व्यवसायीलाई आह्वान गरे । 

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले कोभिड कालमा पाएका सेवा, सुविधा सधैँ नपाउनेतर्फ उद्योगी, व्यवसायीको ध्यानाकर्षण गराए । उनले आर्थिक वृद्धिदर सँगसँगै रोजगारीको अवसर सृजना गर्नुपर्ने पनि स्पष्ट पारे । 



उपाध्यक्ष पौडेलले भने, ‘उद्योगी, व्यवसायीले कोभिड कालमा पाएका सुविधा सधैँ पाउने अवस्था नरहन सक्छ । आर्थिक वृद्धिदर गर्ने भनेको रोजगारीको अवसर सृजना हुने गरी हो । त्यसलाई ध्यानमा राखेर राष्ट्रिय योजना आयोगले आर्थिक वृद्धि र रोजगारीमा त्यसका पारेको प्रभावबारे तथ्यांक नै बनाउने तयारी गरिरहेको छ ।’

उपाध्यक्ष पौडेलले रोजगारी वृद्धिमा योगदान पुर्‍याउन नसक्ने ढंगले भएका आर्थिक वृद्धिदरको कुनै अर्थ नहुने पनि पटकपटक दोहोर्‍याए ।



  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १६:१४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया