धर्म परिवर्तनले संकटमा लोपोन्मुखको पर्व, चेपाङले नै मनाउन छाडे न्वागी

बागमती प्रदेशको तीन जिल्लाहरु धादिङ, चितवन र मकवानपुरमा बसोबास गर्ने चेपाङ समुदायले बुधबार न्वागी पर्व मनाए । आफ्ना बारीमा फलेका अन्न र फलफूलहरु देवतालाई चडाएर खाने परम्परालाई चेपाङ जातीहरुले न्वागी खाने भन्दछन् । चेपाङ समुदायका मानिसहरूले प्रकृति पूजा, भूमि पूजा, वन पूजा गर्छन् । 

भदौ महिनामा मकै, घैयालगायतका उपजहरूको उत्पादन हुने भएकाले न्वागीका बेला त्यस्ता अन्न उपजहरू पहिला आफ्ना दिवंगत पितृलाई चढाउने र त्यसपछि मात्र आफूले खाने अनुमति प्राप्त गर्ने चाड न्वागी हो ।

यसैअनुसार मकवानपुरमा चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिकाका चेपाङहरुले पनि विधिवत् रुपमा यो पर्व हर्षोल्लासको साथ मनाएका हुन् । पहिले–पहिले गाउँभरका मानिसहरु जम्मा भएर मनाइने यो पर्वमा समयहरु बित्दै जाँदा परम्परा मनाउने शैली र पर्वको महत्वहरु कम हुँदै गइरहेको भान हुन थालेको राक्सिराङ ५ बोडबारीका अखिलमान प्रजा (चेपाङ) बताउँछन् । 

केही वर्ष अघिसम्म गाउँमा भएका सबैले मनाउने गरिएको यो पर्व अहिले आधा मानिसले पनि नमनाउने गरेको प्रजा बताउँछन् । ‘बोटबारीमा एक दशक अघि १५–२० घर थिए । एकै परिवारमा धेरैजना बस्थे । चुहिने खरको छानोमा तपतप भिज्दै पनि रात काटिन्थ्यो । तर, पनि सबैको मन एउटै हुन्थ्यो,’ उनले पुरानो चलन सम्झिँदै भने, ‘चाडपर्वमा बारीमा फलेका मकै, जंगलमा फलेका फलफूलहरु जम्मा गरिथ्यो, त्यसैलाई बाँडीचुँडी पर्व मनाइन्थ्यो । तर, अहिले त्यस्तो छैन ।’ 

अहिले आ–आफैँ साइत हेरेर चित्तबुद्धलाई अन्न चडाउने गरिएको उनले बताए । ‘अहिले यही ठाउँमा पनि घरहरुको गन्ती थपिएको छ । तर, न्वागी मनाउने घर भने उही १५–२० मात्रै हो,’ अखिलमानले भने ।’  
उनका अनुसार अहिले गाउँमा मान्छे नभएर न्वागी कमैले मात्रै मनाएका होइनन् । तर, चेपाङ समुदायका अधिकांश मानिसहरुले हिन्दू धर्म परिवर्तन गरेपछि आधाभन्दा बढी परिवारले न्वागी नमनाएका हुन् । 

कसले कुन धर्म मान्ने भन्ने आफ्नै रोजाइ हुने बताउँदै अखिलमान भन्छन्, ‘म एक झाँक्री पनि हुँ । चेपाङ जाति भएर पनि हाम्रो आफ्नो धर्म जोगाउन नसकिएला कि भन्ने डर पनि लाग्छ कहिलेकाहीँ । गाउँका आधाआधी मान्छे अहिले क्रिश्चियन धर्म मान्छन् ।’ विदेशी धर्मले चेपाङहरुको चाडपर्वहरु मासिने डर हुन थालेको उनले बताए । 



त्यसो त, सानै उमेरदेखि आफ्ना बाउबाजेले मनाउँदै आएको पर्व सोही गाउँका श्यामबहादुर प्रजा (चेपाङ)ले विगत २२ वर्षदेखि मनाएकै छैनन् । आफू २२–२३ वर्षको हुँदा देखि धर्म परिवर्तन गरेका श्यामबहादुर चेपाङको प्रमुख पर्व भए पनि आफ्नो धर्मभित्र नपर्ने कारण नै पर्व नमनाएको बताउँछन् । 

उनको परिवारमा रहेका झण्डै दुई दर्जन परिवार सदस्य कसैले पनि न्वागी मनाएनन् । पहिले प्रसाद चडाउने श्यामबहादुरका परिवार अहिले देवतालाई चडाएका प्रसाद पनि खाँदैनन् । ‘जाँड रक्सी खाँदैनौँ । भगवान् नमान्ने भएकोले त्यहाँ चडाएको केही पनि खान मिल्दैन । तर इष्टमित्र भेट्न जाने भने गरेका छौँ,’ श्यामबहादुरले भने । 



लोपोउन्मुख चेपाङको संस्कृति र परम्परा धर्म परिवर्तनको चपेटामा पर्दै गइरहेका छन् । अधिकांश चेपाङ समुदायका मानिसहरूले क्रिश्चियन धर्म अपनाएर विश्वासी बनेको वर्तमान अवस्था छ । अहिले धर्म परिवर्तन भइसकेपछि न त गाउँमा न्वागीको सौन्दर्य भेटिन मुस्किल छ । पुरातन बलिप्रथामा आधारित न्वागी पूजा लोप हुँदै गएको छ भने यसलाई औपचारिकता र प्रचारबाजीमा सीमित हुने अवस्था छ ।

नेपालका चितवन, मकवानपुर, धादिङ र गोरखामा यो जातिको बसोबास बढी छ । छिटफुट २४ जिल्लामा बसोवास रहेको चेपाङ जातीको जनसंख्या देशभर ७० हजारभन्दा बढी रहेको बताइएको छ । तीमध्ये मकवानपुरमा चेपाङ जातिको जनसंख्या ३० हजारभन्दा बढी रहेको अनुमान छ । 

मकवानपुरको राक्सिराङ गाउँपालिका, मनहरी गाउँपालिका, कैलाश गाउँपालिका, भिमफेदी गाउँपालिकामा चेपाङ समुदायको बसोवास रहेको छ ।

  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार १८:२८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया