निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकी छोरी सुनिधिले आफ्नो परिवारको जीवन रक्षाका लागि पहल गरिदिन नेपाली जनतासँग आग्रह गरेकी छिन् ।
जबराकी छोरी सुनिधिले आफूहरुको परिवारलाई सरकारले नजरबन्दमा राखेर अत्याचार गरेको भन्दै बाँच्न पाउने आफूहरुको अधिकार सुरक्षित गर्न पनि नेपाली जनताले साथ दिनुपर्ने बताइन् ।
आइतबार अपराह्न बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट गाडीमा बाहिर निस्कने क्रममा उनले आफूहरुलाई गठबन्धन सरकारले बाहिर निस्कन र भित्र पस्न समेत नदिएर अत्याचार गरेको उल्लेख गर्दै नेपाली जनताको साथ चाहिएको बताइन् । देशको माया हुने, अदालतको माया हुने जो–कोहीले पनि आफूहरुलाई साथ दिएर सरकारको दमनबाट उन्मुक्ति दिलाई दिन पनि नेपाली जनताबाट ठूलो भरोसा लिएको उनले बताइन् ।
भावविह्वल हुँदै उनले स्कुलमा रहेको बच्चा ल्याउने नदिने, औषधि ल्याउन पनि नदिने गरी प्रहरीहरु सरकारले परिचालन गरेको भन्दै दुःखेसो गरिन् । सरकारले आफूहरुमाथि अन्याय गरेर अराजकता फैलाएको भन्दै उनले त्यसबारे तथ्य बुझ्न पनि नेपाली जनतालाई आग्रह गरिन् ।
सुनिधिका अनुसार स्कुलको बच्चा लिन गएकी सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । यसैबीच, निलम्बित प्रधानन्यायाधीश जबरा अस्वस्थ भएको र प्रहरीले जबराको उपचारका लागि औषधि ल्याउन समेत नदिएको उनले बताइन् ।
निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथि प्रतिनिधिसभामा लगाइएको महाअभियोग पुष्टि नभएको भन्दै आज (आइतबार) बिहान १० बजे सर्वोच्च अदालतमा काममा फर्कने तयारी गरेका थिए । तर, सरकारले नजरबन्दमा राखेर जान नदिएको परिवारले बताएको छ ।
यता, राष्ट्रिय मानव अधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश जबरा र उहाँको परिवारको अवस्थाबारे जानकारी लिन गए पनि त्यसबारे औपचारिक कुनै जानकारी गराएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।