logo-img

इटालीमा पुनः आर्थिक मन्दीकाे सङ्केत

एजेन्सी– इटालीमा चार बर्षपछि पुनः आर्थिक मन्दीको सङ्केत देखिएको छ । बिहीबार सार्वजनिक गरिएकाे प्रतिवेदनमा आर्थिक मन्दीकाे सङ्केत देखिएकाे उल्लेख गरिएकाे छ ।

इटालीमा देखिएको आर्थिक सङ्कटले १९–राष्ट्र सदस्य रहेको यूरो समूहलाई पुनः चिन्तित पारेको छ । 

यूरोपको तेस्रो ठूलो अर्थतन्त्र इटालीको त्रैमासिक वृद्धिदरमा ०.२ प्रतिशतले कमी आएको छ । अघिल्लो तीन महिना अर्थात् जुलाईदेखि सेप्टेम्बरसम्म यहाँको कुल ग्राहस्थ उत्पादनको ०.१ प्रतिशतको सङ्कुचन रहेकोमा यसबाट पनि थप ०.२ प्रतिशतको कमी आएको जनाइएको छ । लगातार दुई त्रैमासिकमा देखिएका आर्थिक सङ्कुचनलाई प्राविधिक मन्दी भनिएको छ । 

इटालीको मन्दीको एउटा कारण त समग्र यूरो क्षेत्रको आर्थिक वृद्धिदरमा देखिएको कमीको कारण हो । यूरोपको तथ्याङ्क मामिला हेर्ने निकाय, यूरोस्टाटले बिहीबार भनेको छ, यूरो क्षेत्रको आर्थिक वृद्धि गत वर्षको अन्तिम त्रैमासमा निकै कम अर्थात् ०.२ प्रतिशत रहेको छ र अघिल्लो तीन महिनामा पनि सोही अवस्थामा रहेको थियो, जसका कारण सन् २०१८ मा यूरो क्षेत्रको समग्र आर्थिक वृद्धिदर १.८ प्रतिशत कायम भएको छ ।

यो एक वर्ष पहिले प्रक्षेपण गरिए अनुसार निकै कमी हो । सन् २०१७ मा यूरो समूहको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहेको थियो र अघिल्लो वर्षभन्दा सामान्य कमी आउने प्रक्षेपणभन्दा निकै तल नतिजा आएको छ । 

विगत केही महिनादेखि इटालीको अर्थतन्त्रले यूरोप लगायत विश्वसमुदायको ध्यान खिचेको छ । इटालीमा नयाँ ‘जनपक्षीय’ सरकारले यूरोपेली संघ (इयू) को कार्यकारी आयोगमा उसको जनपक्षीय बजेट योजनालाई लिएर निकै लामो समय विवाद रह्यो । 

सरकारले यहाँका जनतालाई सामाजिक सुरक्षा खर्च र पेन्सन सुधारको योजना अघिसार्दै इटालीका जनतालाई आर्थिक रूपमा समृद्ध तुल्याउने योजना इयूमा विवादित बन्याे । निकै लामो बहसपछि पनि इटालीले जनतालाई तत्काल राहतको अनुभूति हुने खालको बजेट सार्वजनिक गर्यो जुन इयूका लागि अस्वीकार्य थियो । 

आर्थिक मन्दीलाई औपचारिक पुष्टि गरिनुपूर्व इटालीका प्रधानमन्त्री जिसेफ कोन्टेले बुधबार सन् २०१९ को सुरूका केही महिना मुलुकले आर्थिक सङ्कुचन सामना गर्नुपर्ने देखिएको बताउँदै भने, ‘वर्षको दोस्रो छ महिनामा यसबाट मुक्ति पाउने आशाका लागि प्रशस्त आधारहरू रहेका छन् ।’ 

इयू आयोग भने इयू क्षेत्रकै प्रसुप्त कर्जा सङ्कटकाबीच दोहोरिएर आएको इटालीको आर्थिक मन्दीप्रति चिन्ता व्यक्त गरेको छ । उसले भनेको छ, ‘इटालीको सरकारले महत्वाकांक्षी योजनामार्फत ल्याएका कार्यक्रमलाई फिर्ता नगरे थप सङ्कटको सामना गर्नुको विकल्प छैन ।’

चीन–अमेरिका व्यापार विवाद, ब्रेक्जिटबारेको अन्यौलका कारण इटालीबाहेक जर्मनी, फ्रान्सजस्ता मुलुकको पनि अर्थतन्त्रमा समस्या देखिएको छ । गत वर्षको तेस्रो त्रैमासमा यूरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा पनि हरितगृह ग्यास उत्सर्जन मापदण्डका कारण कार विक्रीमा आएको कमीले अर्थतन्त्रमा अनपेक्षित सङ्कुचन आएको थियो । 

‘आर्थिक मनोभावनामा देखिएको निरन्तरको गिरावटले के सङ्केतले आर्थिक वृद्धिका रफ्तार अझै कमजोर बन्ने देखिन्छ,’ कमर्ज बैंकका अर्थशास्त्री क्रिस्टोफ वेलले भने । 

चीनको आर्थिक विकासबारेको अनिश्चितता, अमेरिका–चीन व्यापार विवाद, इयू–बेलायतको वहिर्गमन विवादले यस क्षेत्रको आर्थिक वृद्धिका लागि सन् २०१९ मा ठूलो प्रभाव पार्ने अनुमान गरिएको वेलको भनाइ छ । 





  • प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार ७:५१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया