logo-img

श्रीमान् अर्कै बिहे गरेर मुग्लान पसेपछि ६२ वर्षसम्म अनागरिक, दुई सन्तान पनि नागरिकताबाट वञ्चित

बाजुराको खप्तड छेडेदह गाँउपालिका २ बस्ने ६२ वर्षीय दुरपति सार्कीको परिवारले नागरिकता नपाँउदा सरकारी सेवा लगायत सेवाबाट वञ्चित भएका छन् । दुरपतिको पनि नागरिकता बनेको छैन भने उनका २७ वर्षकी छोरी मना सार्की र २२ वर्षका छोरा तेज सार्कीले समेत नागरिकता पाउँन सकेका छैनन् ।

दुरपतिको वृद्धभत्ता पाउने उमेर भइसकेको छ । उनका छोरा तेज दृष्टिविहीन अपांग हुन् । उनले पनि राज्य बाट पाउँने सामाजिक सुरक्षा भत्ता नागरिकता वा अन्य कुनै प्रमाण नभएका कारण सेवाबाट वञ्चित भएको वडा अध्यक्ष भक्तबहादुर बुढाले बताए । आर्थिक अवस्थामा निकै कमजोर रहेको दुरपतिले नागरिकताका लागि प्रयास गरेको भए पनि नागरिकता बनाउन नसकेपछि उनले नागरिकता पाउँने आस नै मारेकी छन् । 

दुरपतिले बझाङको खप्तड छान्ना गाँउपालिका ६ बिणा बस्ने मदन सार्कीसँग बिहे गरेकी थिइन् । श्रीमानले अर्को बिहे गरेपछि उनि बाल बच्चासहित बोकेर १७ वर्षदेखि बाजुराको माइतीघरमा बस्दै आएकी छन् । १७ वर्षदेखि श्रीमान् आफ्नो सम्पर्कमा नरहेको र अर्को बिहे गरेर भारतमा बस्ने गरेको खबर आफूूले पाएको उनले बताइन् ।
 
नागरिकता लागि उनले स्थानीय सरकारसँग आग्रह गरे पनि श्रीमानको नागरिकता चाहिने र अर्को बाजुराबाट लिने भए बसाइसराइँ चाहिने भनेपछि नागरिकताबाट बञ्चित भएको उनको भनाइ छ । ‘श्रीमान् कता छन्,  खोजी पनि गरिएन, उनले बिहे गरेपछि आफू माइतीमा आएर अलग्गै बसेकी छु, अनपढ भएकाले नागरिकता कसरी बनाउने भन्ने पनि थाहा  पनि छैन,’ उनले भनिन् ।
 
‘छोरा तेज ३ बर्षको हुँदा दादुरा रोगबाट ग्रसित भएपछि दृष्टिविहीन बनेका हुन् । उनी अहिले दुवै आँखा देख्दैनन् । ‘आफ्नो नागरिकता नहुँदा न छोराको जन्मदर्ता बनाउन सकेँ, न नागरिकता । न त छोराले पाउने अपांग भत्ता नै पाएकी छु’ दुरपतिले भनिन् ।

उनी भूमिहीन भए पनि नागरिकता नहुँदा राज्यले दिने अन्य सेवाबाट वञ्चित भएकी छन् । दलितलाई लक्षित गरेर जनताआवास कार्यक्रम लागू भए पनि नागरिकता नभएका कारणले उनी त्यो सेवाबाट वञ्चित छिन् । सरकारले दिने अन्य सहुलियतका कार्यक्रमबाट पनि वञ्चित भएकी छन् । 

छोरीको बिहे गर्न पनि समस्या

उनकी छोरी मनाले भनिन्, ‘२७ वर्षको उमेर कटिसकेको छ । न चुनावमा भोट हाल्न पाँउछु । न अरु सरकारी सेवा लिन पाउँछु ।’ 



एकपटक एकजना केटा आफूलाई माग्न आएको र नागरिकता समेत नबनेको र बन्न नसक्ने भनेपछि केटा फिर्ता भएको मनाले दुःखेसो पोखिन् ।

एकातिर नागरिकता छैन्, अर्कोतिर माइतीले दिएको सानो छाप्रो घरमा बस्दै आएका उनीहरुसँग आफ्नै जग्गा छैन् । उनीहरुको मात्रै होइन, दुरपतिका माइतीको पनि कमाइ गरेर खाने जग्गा छैन । 



खप्तडछेडेदह गाउँपालिका २ का वडाध्यक्ष भक्तबहादुर बुढाले उनलाई नागरिकता दिनका लागि पहल भइरहेको बताएका छन् ।

  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार २२:८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया