कैलाली - ४ मा दुई ‘कमाण्डर’बीच प्रतिस्पर्धा, कसले मार्ला बाजी  ?

सुदूरपश्चिम प्रदेशको सबै भन्दा बढी चासोका साथ हेरिएको कैलाली क्षेत्र नम्बर ४ मा मंसिरमा हुने निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेका दुई कमाण्डर बीच प्रतिस्पर्धा हुँदै छ ।  काँग्रेस नेता बीरबहादुर बलायर एमाले नेता लेखराज भट्ट यो क्षेत्रमा चुनावी मैदानमा छन् । नेता द्वय आ–आफ्नो पार्टीका सुदूरपश्चिम ‘कमाण्डर’ हुन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ पाएको कांग्रेस स्थानीय तहको निर्वाचनको मत परिणामले उत्साहित छ ।  सत्तारुढ गठबन्धनविरुद्ध एक्लै चुनावमा उत्रिएको एमालेलाई साख जोगाउने चुनौती छ ।

वि.सं. २०७४ सालको चुनावमा डोटीमा वाम गठबन्धनका साझा उम्मेदवार आलेसँग झिनो मतान्तरले पराजित भएका बलायर कैलाली ४ मा जित निकाल्ने दाउमा छन् । नेता द्वयको पुर्खौली घर डोटी नै हो । लेखराज चौथो पटक संसदीय निर्वाचन लड्दै छन् । भने बलायर पहिलो पटक कैलालीबाट चुनावी मैदानमा छन् । यस क्षेत्रमा डोटी पुर्खौली घर भएका बढी मतदाताहरू रहेका छन् ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने बलायर नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा प्रवेश गरेका पात्र हुन् । उनी २०६४ सालको पहिलो संविधान सभामा डोटी १ बाट चुनाव लडे । त्यस बेला डोटीमा दुई निर्वाचन क्षेत्र थिए । 

बलायरले ०६४ को पहिलो संविधान सभा चुनाव एमालेका हर्कबहादुर सिंहसँग हारे । त्यसपछि ०७० सालको निर्वाचन जितेका उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा यातायात मन्त्री बने । ०७४ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका प्रेमबहादुर आलेसँग १ हजार ६३२ मतले बलायर हारे ।  त्यस बेला आलेले ३२ हजार ५१० मत ल्याएका थिए भने बलायरले ३० हजार ८७८ मत मात्रै । वि.सं. ०७४ को चुनावमा डोटीमा एउटै मात्रै निर्वाचन क्षेत्र थियो ।

०७४ मा डोटीमा पराजित बलायर यस पटक कैलाली ४ मा जितेर संसदको यात्रा तय गर्ने दाउमा छन् । कैलालीबाट भट्टले तीन वटा संसदीय निर्वाचन लडेका छन् । ०६४ सालको पहिलो संविधानसभामा माओवादीबाट संसदीय चुनाव ‘फेस’ गरेका लेखराजले जित निकाल्दै संसदको यात्रा तय गरेका थिए ।



०६४ र ०७० को चुनावमा कैलालीमा ६ वटा निर्वाचन क्षेत्र रहेका थिए । कैलाली ५ बाट चुनाव लडेका लेखराजले ०६४ मा कांग्रेसका दीर्घराज भाटलाई पराजित गरेका थिए । भट्टले त्यस बेला १७ हजार ९७९ मत ल्याएका थिए । उनी प्रचण्ड नेतृत्वको सरकारमा पहिलो पटक श्रममन्त्री बने ।  त्यसपछि बाबुराम भट्टराई नेतृत्वको सरकारमा पनि भट्टले वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी सम्हाल्ने मौका पाए । भट्टका लागि उनको पार्टी भित्र समेत चरम असन्तुष्टि रहेको रहेको बताएको छ ।

०७० सालमा लेखराजले पराजय भोग्नुपर्‍यो । उनी ०६४ का प्रतिस्पर्धी कांग्रेसकै भाटसँग पराजित भएका थिए ।  त्यस बेला भाट १६ हजार ३४६ मत सहित विजयी भएका थिए । भट्ट ११ हजार ३४ मतमा खुम्चिए ।  ०७४ को चुनावमा भने एमालेको समर्थनमा लेखराज कैलाली ४ बाट विजयी भएका थिए । ०७४ पछि कैलालीमा ५ वटा मात्रै निर्वाचन क्षेत्र रहेका थिए ।



०७४ मा वाम गठबन्धनका साझा उम्मेदवार बनेका भट्टले ३१ हजार ३५९ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिलकुमार भण्डारीले २० हजार ९६० मत ल्याएका थिए । 
सत्ता गठबन्धनबाट कैलाली ४ को प्रदेश सभा १ मा एकीकृत समाजवादीका दीर्घ सोडारी र २ मा कांग्रेसका प्रकाश बमको उम्मेदवारी परेको छ ।  एमालेबाट प्रदेश सभा (१) मा भीमबहादुर देउवा र प्रदेश सभा २ मा हरिसिंह साउद उम्मेदवार छन् । 

देउवा यस अघि गौरीगंगाको मेयर थिए भने साउँद गोदावरीका मेयर थिए । यस क्षेत्रमा स्थानीय तहको निर्वाचन क्षेत्रमा गोदावरी नगरपालिकाका १२, गौरीगंगा नगरपालिका ११, चुरे गाउँपालिकाका ६ र मोहन्याल गाउँपालिकाको एक वडा गरी कूल ३० छन् । स्थानीय तहको चुनावमा नेपाली कांग्रेस एक्लैले १५ वडा जितेको छ । माओवादी ४ र एकीकृत समाजवादी १ वडा जितेको छ । एक वडामा भने स्वतन्त्र विजयी भएका छन् । नेकपा एमालेले ९ वडा जितेको छ । सत्तारुढ गठबन्धनले जितेको वडा संख्या २० हुन्छ, जुन एमालेको भन्दा दोब्बर हो । 

यी पालिकामा स्थानीय तहको चुनावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच प्रमुख उपप्रमुखमा मात्रै तालमेल भएको थियो । कांग्रेसले गोदावरी नगरपालिका, माओवादीले गौरीगंगा र एमालेले चुरे गाउँपालिकाको प्रमुख जितेको छ । कांग्रेसले गौरीगंगा र चुरे गाउँपालिकाको उपप्रमुख जित्दा एमालेले गोदावरीको उपप्रमुख जितेको हो ।

  • प्रकाशित मिति : असोज २८, २०७९ शुक्रबार १४:१२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया