नेपालले हवाई सुरक्षा परिपालन दर ७०.०१ नतिजा हासिल गर्‍यो
फरकधार / २ कात्तिक, २०७९

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को अडिटबाट नेपालले हवाई सुरक्षा परिपालन दर ७०.०१ नतिजा हासिल गरेको छ । 



बुधबार प्राधिकरणले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत अप्रिल १२ देखि २५ सम्म आइकाओको टोलीले नेपालको उड्डयन क्षेत्रको स्थलगत सुरक्षा अडिटमा हवाई सुरक्षा परिपालन दर ७०.०१ प्रतिशत उड्डयन सुरक्षा कायम रहेको देखाएको बताएको हो । 

प्राधिकरणले आइकाओ १० सदस्यले टोलीले नेपालको आठ क्षेत्रमा अडिट गरेको थियो । पत्रकार सम्मेलनमा प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले एसिया प्रशान्त क्षेत्र र विश्वको हवाई सुरक्षा परिपालनदर नेपालको उच्च रहेको बताए । 



नेपालले आइकाओले नेपालले हवाई सुरक्षाको लागि परिपालना गर्नुपर्ने कार्यमा उच्च रुपमा सुधार भएको देखाएको बताउँदै उनले आइकाओको प्रतिवेदनले औंल्याएका कमी कमजोरी निर्मुल गर्न प्राधिकरणले गृहकार्य सुरु गरेको जानकारी दिए । 



प्रमुख श्रेष्ठले नागरिक उड्डयन प्राधिकरणले नेपालको हवाई सेवा बिस्तारको लागि थप योजना पनि अघि सारेको बताए । आइकाओको टोलीले बृहत् अडिटको लागि ७९० प्रश्न समेटेको उनले बताए । 

आइकाओको सहयोगमा मुलुकको हवाई सुरक्षा परिपालन दर ८० प्रतिशतले कायम गर्ने उद्देश्यले काम गरिरहेको बताउँदै श्रेष्ठले आइकाओको अडिटपछि प्राधिकरणले कर्मचारी सरुवा नगर्ने निर्णय गरेको बताए । 

प्राधिकरणले सेफ्टी हेर्ने निकायलाई अलग्गै बजेटको व्यवस्था पनि गर्न सुरु गरेको बताउँदै उनले आइकाओको अडिटमा कुनै कमजोरी नदेखिएकाले हवाई उडानमा नेपाली आकाश सुरक्षित रहेको बताए । 

त्यस्तै, प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले आइकाओको अडिटले देखाएको सुरक्षा मापन दर एसिया प्रशान्तीय क्षेत्रमा नै नेपालको उच्च रहेको बताए । एसिया प्रसान्तीय क्षेत्रको उड्डयन सुरक्षा दर ६४ प्रतिशत रहेको दाबी गर्दै अधिकारीले नेपालले हवाई सुरक्षामा राम्रो काम गरिरहेको दाबी गरे । अब पहाडमा हुने हवाई दुर्घटनालाई देखाएर आइकाओले कालोसूचीमा राख्न नहुने उनले बताए । 

नेपालमा अहिले ९ वटा फिक्सविङ र ११ वटा हेलिकोप्टर कम्पनीका सयवटा विमान सञ्चालनमा छन् । उडान सुरक्षा मापन गर्न सेफ्टी पर्फर्मेन्स इन्डिकेटरको प्रयोग सुरु गरिएको प्राधिकरणले बताएको छ । फिक्सविङ र रोटर विङ जहाज उडान सुरक्षा निरीक्षणका लागि प्राधिकरणले सम्बद्ध जहाज उत्पादक कम्पनीका प्रतिनिधि र विज्ञ परिचालन गर्दै आएको प्राधिकरणले बताएको छ । 

  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार २०:११:४१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया