सर्वोच्च अदालतको आदेश : जीएमआरको म्याद दुई वर्ष थप्ने निर्णय कार्यान्वयन नगर्नू

सर्वोच्च अदालतले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) को दुई वर्ष म्याद थप गर्ने मन्त्रिपरिषदको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले गएकाे असार ३१ गते जीएमआरको म्याद दुई वर्ष थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न हिजाे बिहिवार अन्तरिम आदेश दिएको हो । मन्त्रिपरिषद्ले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको म्याद थप गर्ने निर्णय गरेको थियो । तीन वर्ष पहिले नै म्याद समाप्त भइसकेको र बीचको म्याद थप नभएको अवस्था छँदाछँदै निर्णय भएको देखिएको आदेशमा उल्लेख छ ।

‘साविकमा म्याद थप गर्ने निर्णय लगानी बोर्डबाट गर्ने गरिएकामा अहिले किन मन्त्रिपरिषदबाट निर्णय गर्नुपरेको हो भन्ने पक्ष विचारणीय रहेको’ आदेशमा भनिएको छ ।' २०७१ सालमा भएको दुई वर्ष अवधिको सम्झौताको म्याद १० वर्षपछिसम्म पुग्ने गरी थप गर्नुको कुनै औचित्य देखिँदैन । तसर्थ सुविधा सन्तुलन तथा अपूरणीय रुपमा पर्न जाने क्षति समेतलाई दृष्टिगत गरी निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु मनासिव देखिएकाले रिट निवेदन अन्तिम किनारा नलागेसम्म माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको म्याद थप गर्ने निर्णय कार्यान्वयन नगर्नू नगराउनू, यथास्थितिमा राख्नू', अन्तरिम आदेशमा भनिएको छ ।





  • प्रकाशित मिति : कात्तिक १८, २०७९ शुक्रबार १२:१८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया