ओलीले दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता आउँदैन, भाषणमा त भारत नै हाम्रो भनिदिन सक्छौँ : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरालगायत नेपाली भूमि फिर्ता नआउने भन्दै त्यसका लागि कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् । 

शनिबार  डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने,‘दार्चुला गएर भाषण गरेर  लिम्पियाधुरा आउँछ ? कि लड्नुपर्यो । बन्दुक ल्याउनुहोला । होइन भने कुटनीतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो । भाषणमा त काठमाडौं बसेर भारत नै हाम्रो भनिदिन सक्छौँ ।’ 

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले षडयन्त्रपूर्ण ढंगले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद विघटन गराएकाे र त्यसका विरुद्धमा गठबन्धन बनेको बताए । ‘षड्यन्त्रपूर्ण तरिकाले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद विघटन गर्नुभयो । त्यसका विरुद्धमा गठबन्धन बनेको हो । त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्छ ।’

सभालाई सम्बोधन गर्दै उनले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गर्दै प्रधानमन्त्री देउवाले भने, ‘खगराज भट्ट माओवादीको नेता हो । उहाँ र हाम्रो पार्टीका साथीहरू मिल्यो भने सुदूरपश्चिमको विकास हुन्छ । डडेल्धुराको सबैभन्दा बढी विकास हुन्छ । उहाँलाई शेरबहादुर देउवा भनेर भोट हालिदिनुहोला ।’ 

उनले  पाँचौपटक प्रधानमन्त्री भइसकेको र डडेल्धुराको विकासमा लागिरहेको बताउँदै केही काम गर्न भने बाँकी रहेको बताए । उनले भने– ‘डडेल्धुरामा मेडिकल कलेज भइसकेको छ । एयरपोर्ट बन्दै छ  । डडेल्धुराकाे सहयोगले आफू पाँचपटक प्रधानमन्त्री भइसकेको 
भन्दै उनले यहाँको सहयोगले फेरि अगाडि बढ्ने बताए । उनले भने, 'डडेल्धुरामा केही काम गर्न बाँकी छन् । त्यसलाई पूरा गर्ने छु । यहाँको सडक पिच गर्नेछु । विमानस्थल बनाउनेछु । सबैलाई खानेपानी पुर्याउने विश्वास दिलाउँछु ।’

३६ सालदेखि आफू लगातार गाउँ आइरहेको बताउँदै उनले भने,  ‘यहाँ धेरै मेरा साथी भाइ पनि छ । यो ठाउँमा फेरि भेट्न पाउँदा आफूलाई शौभाग्यशाली ठान्छु । धेरै भन्नु केही छैन ।’





  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार १५:२९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया