पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बञ्जारा एमाले उम्मेदवारसँगै घरदैलोमा

नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बञ्जारा आचारसंहिताविपरीत पर्साको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेबाट प्रतिनिनिधिसभा सदस्य पदका उम्मेदवार राजकुमार गुप्ताका लागि मत मागिरहेका छन् । 

महासंघका प्रदेश अध्यक्ष राजेशकुमार कर्णले पत्रकारहरुले सत्यतथ्य र सन्तुलित सामाचार मात्र सम्प्रेषण गर्नुपर्ने एवं निर्वाचन आयोग, प्रेस काउन्सिल तथा मिडिया काउन्सिलले जारी गरेका आचारसंहिता समेतलाई पालना गर्न विज्ञप्ति नै निकालेर आग्रह गरिरहँदा उनका आफ्नै कार्यसमितिका महासचिव जस्तो जिम्मेवार पदाधिकारी नेकपा एमालेका उम्मेदवारसँगै घरदैलोमा घुमिरहेका छन् । 

महासचिव बञ्जाराले ‘जनता जगाउँदै, सूर्यमा जनमत बढाउँदै, कांग्रेसको गढ पर्सा–३ को सन्ठीमा एमालेको जग मजबुत बन्दै’ भनी आफ्नो फेसबुकमै लेखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा हालेको स्टाटससहितको तस्बिरमा उनी स्वयं पनि उम्मेदवारसँगै देखिएका छन् ।
 
महासंघका प्रदेश अध्यक्ष कर्णले कुनै दल तथा उम्मेदवारलाई लक्षित गरी हानीनोक्सानि पुर्याउने र निर्वाचनको परिणामलाई नै प्रभावित गर्ने गरी समाचार प्रकाशन प्रसारण गर्न नहुने भएकोले सम्पूर्ण पत्रकारहरुलाई यसतर्फ ध्यान दिन आग्रह गरिरहँदा महासचिव बञ्जारा भने खुलेरै निर्वाचन प्रचारप्रसारमा लागेको देखिएको छ ।
 
यसअघि प्रेस काउन्सिल नेपालले पनि गत असोज २८ गते एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी मंसिर ४ गते हुनलागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा पत्रकारजगतबाट कुनै दल विशेष वा उम्मेदवारलाई मत आह्वान गर्ने, राजनीतिक दल एवम् उम्मेदवारको प्रचारप्रसारलाई प्रश्रय दिँदै सेयर र कमेन्ट गर्ने एवं स्टाटस लेख्ने, अपिल गर्ने, सामाजिक सञ्जालबाट समेत पक्ष विपक्षमा कुनै सन्देश, सूचना प्रवाह गर्ने कार्य पत्रकारिताको व्यवसायिक मर्यादा एवं पत्रकार आचारसंहिताविपरीत हुने भन्दै सचेत गरेको थियो । 

तर, यस्तो अवस्थामा पनि महासचिव बञ्जारा खुलेरै कुनै दल अथवा उम्मेदवार विशेषको पक्षमा मत माग्दै हिँडेका छन् । यस सम्बन्धमा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेशकुमार कर्णले श्याम बञ्जारा पनि महासंघको जिम्मेवार पदाधिकारी रहेकोले उनले आफ्नो फेसबुकमा पोष्ट गरेको सामग्रीबारे उनीसँग नै विस्तृत बुझ्न भनेका छन् । 

यता, महासचिव बञ्जाराले भूलबस आफ्नो फेसबुकबाट अफिसका कुनै कर्मचारीले तस्बिर राखेको हुनसक्ने भन्दै पन्छिन खोजेका छन् ।





  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार १८:३४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया