logo-img

मधेशमा निर्वाचनकाे सबै तयारी पूरा

आइतबार बिहान ७ बजेदेखि सुरु हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मधेस प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ । 

यस प्रदेशमा निर्वाचनका लागि ३३ हजार ८८० जना कर्मचारी खटाइएको छ । प्रदेश निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार प्रदेशका ४ हजार २३५ मतदान केन्द्रमा ८ जनाको दरले कर्मचारी खटाइएका छन् । 

८ जनामध्ये प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिए । 

सप्तरीका ५३६ मतदान केन्द्रमा ४ हजार २८८ कर्मचारी खटिएका छन् । जिल्लामा २ लाख १७ हजार २८२ पुरुष, २ लाख १ हजार ७१ महिला र अन्य २१ गरी जम्मा ४ लाख १८ हजार ३७४ मतदाता छन् । 

त्यस्तै, सिरहाका ५०५ मतदान केन्द्रमा ४ हजार ४० कर्मचारी खटेका छन् । जिल्लामा २ लाख २४ हजार ९९ पुरुष, १ लाख ९८ हजार ६११ महिला र अन्य २ गरी जम्मा ४ लाख २२ हजार ७१२ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । 

धनुषामा ६०५ मतदान केन्द्रमा ४ हजार ८४० कर्मचारी खटाइएका छन् । यस जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने भएका छन् ।



महोत्तरीका ४९९ मतदान केन्द्रमा ३ हजार ९९२ कर्मचारी खटेका छन् । जिल्लामा २ लाख १५ हजार १३१ पुरुष, १ लाख ८१ हजार ८९८ महिला र अन्य एक जना गरी कूल ३ लाख ९७ हजार ३० मतदाता छन् । 

उता, सर्लाहीमा भने ६०० मतदान केन्द्रमा ४ हजार ८०० कर्मचारी खटिएका छन् । जहाँ २ लाख ५९ हजार ४१४ पुरुष, २ लाख १९ हजार ६१४ महिला र १० जना अन्य गरी जम्मा ४ लाख ९७ हजार ३८ मतदाता रहेका छन् । 



त्यस्तै, रौतहटका ५२३ मतदान केन्द्रमा ४ हजार १८४ कर्मचारी खटिएका छन् । जिल्लामा २ लाख २७ हजार २२९ पुरुष, १ लाख ८८ हजार २५५ महिला र एक जना अन्य गरी जम्मा ४ लाख १५ हजार ४५५ जनाले आफ्नो मताधिकारको प्रयोग गर्ने भएका छन् । 

बारा जिल्लामा भने ५५५ मतदान केन्द्रमा ४ हजार ४४० कर्मचारी खटेका छन् । यस जिल्लामा २ लाख ३६ हजार ८८० पुरुष, १ लाख ९६ हजार ६१२ महिला र १२ जना अन्य गरी कूल ४ लाख ३३ हजार ५०४ जनाले मतदान गर्ने भएका छन् । 

त्यस्तै, पर्सा जिल्लामा भने ४१२ मतदान केन्द्रमा ३ हजार २९६ कर्मचारी मार्फत १ लाख ९४ हजार ९०४ पुरुष, १ लाख ५१ हजार ८ महिला र १६ अन्य मतदाता गरी कूल ३ लाख ४५ हजार ९२८ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने भएका छन् ।

यस प्रदेशमा जम्मा ३३ लाख ८६ हजार ६२८ मतदाता छन् । प्रदेशका ३२ प्रतिनिधिसभा तथा ६४ प्रदेशसभा निर्वाचन क्षेत्रका लागि आइतबार बिहान ७ बजेदेखि सुरु हुन लागेको निर्वाचनमा १८ लाख २७ हजार ८५४ पुरुष, १५ लाख ५८ हजार ७०४ महिला र ७० जना अन्य मतदाताले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । 

आसन्न निर्वाचनका लागि यस प्रदेशमा २ हजार १५६ मतदान स्थल र ४ हजार २३५ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख पन्थीले जानकारी दिए । 

 

निर्वाचनको सुरक्षाका लागि मधेस प्रदेशमा १२ हजार ९६५ नेपाल प्रहरी खटिएका छन् भने २४ हजारभन्दा बढी म्यादी प्रहरी खटाइएको छ । 

प्रदेशका आठवटै जिल्लामा २४ हजार ४३ म्यादी प्रहरी खटाइएको छ । जसमध्ये सबैभन्दा बढी धनुषामा ३ हजार ८८६ र सबभन्दा कम पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाइएका छन् ।

त्यस्तै, सप्तरीमा ३ हजार २७८, सिरहामा २ हजार ८०९, महोत्तरीमा २ हजार ८०१, सर्लाहीमा ३ हजार ३०७, रौतहटमा २ हजार ९३९, बारामा ३ हजार १४४ र पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाइएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

प्रदेशमा २ हजार १५६ मतदान स्थल र ४ हजार २३५ मतदान केन्द्र निर्धारण गरिएकोमा अधिकांश मतदान स्थल र मतदान केन्द्रलाई अतिसंवेदनशील सूचिमा राखिएको छ ।

प्रदेशका १ हजार २३० मतदान स्थल र २ हजार ४७२ मतदान केन्द्रलाई अतिसंवेदनशील सूचिमा वर्गीकृत गरिएको छ ।

यस्तै, ७७९ मतदान स्थल र १ हजार ४९८ मतदान केन्द्र संवेदनशील, १४७ मतदान स्थल र २६५ मतदान केन्द्र सामान्य सूचिमा रहेको प्रवक्ता तिम्सिनाले जानकारी दिए ।

  • प्रकाशित मिति : मंसिर ३, २०७९ शनिबार १७:५४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया