प्रतिनिधिसभामा सुदूरपश्चिमका ४ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

प्रतिनिधिसभामा सुदूरपश्चिमका १६ वटा निर्वाचन क्षेत्रमध्ये ४ वटा क्षेत्रको मतपरिणाम आइसकेका छन् । ४ वटामध्ये २ क्षेत्र मा कांग्रेस, १ मा नेकपा एकीकृत समाजवादी र १ क्षेत्र मा रेशम चाैधरीको पार्टी नागरिक उन्मुक्ति विजयी भएको छ । 

डडेल्धुरा, अछाम दुईमा कांग्रेस, अछाम एकमा एकीकृत समाजवादी र कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टी विजयी भएका छन् । डडेल्धुरामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवा भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनी १२ हजार ४९२ मतान्तरका साथ सातौं पटक सांसदका रुपमा विजयी भए । देउवाले २५ हजार ५३४ मत प्राप्त गरेका हुन । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याए ।

यस्तै, प्रतिनिधिसभामा अछाम–१ मा नेकपा एकीकृत समाजवादीले जितेको छ । समाजवादीका शेरबहादुर कुँवर नेकपा एमालेका उम्मेदवार झपटबहादुर बोहरालाई हराउँदै निर्वाचित भएका हुन् ।  कुँवरले १९५३४ मत ल्याएर जित निकाले । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बहादुर बोहराले १५०४५ मत ल्याए । 

यो क्षेत्रबाट पहिले नेकपा एमालेका भीम रावललाई उम्मेदवारी दिन टिकटको अपेक्षा गरेका थिए । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रावललाई यो क्षेत्रबाट टिकट दिएनन् । यस्तै गरी अछाम–२ बाट कांग्रेसका पुष्पबहादुर शाह निर्वाचित भएका छन् । उनले नेकपा एमालेका नेतालाई पछि पार्दै निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेस अछाम जिल्ला सभापति समेत रहेका शाह २३ हजार ५४ मतका ल्याएर विजयी भए । यस्तै, एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान सासंद यज्ञ बोगटीले १६हजार ३५ मत पाएर दोस्रो भए । कैलाली–३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी यसअघि नै निर्वाचित भएका छन् ।

सुदूरपश्चिममा मतगणना जारी रहेका ११ क्षेत्रमध्ये कांग्रेस ५ वटा मा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका कांग्रेस नेताले अग्रता कायम राखेका छन् । कांग्रेसका कैलाली–४ मा डिल्लीराज पन्त, र ५ मा नेता वीरबहादुर बलायर अग्रस्थानमा छन् । कञ्चनपुर–२ मा नेता एनपी साउँद र ३ मा रमेश लेखक अग्रस्थानमा छन् । दार्चुलामा नेता दिलेन्द्रप्रसाद बडू पनि अग्रस्थानमा छन् ।



यस्तै, नेकपा एमालेले २ वटा क्षेत्रमा अग्रता कायम गरेको छ । कञ्चनपुर–१ बाट तारालामा तामाङ र बैतडीमा दामोदर भण्डारीले अग्रता कायम राखेका छन् । रेशमको पार्टी नागरिक उन्मुक्ति एक स्थानमा अग्रस्थानमा रहेको छ । कैलाली–१ बाट रञ्जिता चौधरी अग्रता लिएकी छन् । 

त्यस्तैगरी, नेकपा माओवादीले एकवटा क्षेत्रमा मात्र अग्रता कायम गरेको छ । कैलाली–२ मा भगत बडुवालले अग्रता कायम राखेका छन् । एकीकृत समाजवादीले २ क्षेत्रमा अग्रता कायम गरेको छ । 



बझाङबाट भानुभक्त जोशी र डोटीबाट प्रेम आलेले अग्रता कायम राखेका छन् । बाजुरामा एउटा मतदान केन्द्रमा स्थगित हुँदा निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरिसकेको छ । यही मंसिर १० गते आयोगले मतदान गर्ने निर्णय गरेको छ ।

  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १८:५८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया