रुकुम (पूर्व)को सदरमुकामको विवाद संवैधानिक इजलासमा

रुकुम (पूर्व)– रुकुम (पूर्व)को सदरमुकामसम्बन्धी विवाद संवैधानिक इजलासमा पठाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशमान सिंह रावतको सोमबारको पूर्ण इजलासले उक्त मुद्दालाई संवैधानिक इजलासमा पठाउने फैसला गरेको हो । यस मुद्दामा अब संवैधानिक इजलासले फैसला गर्नेछ । 

संविधानसँग बाझिने खालका मुद्दालाई सर्वोच्चले संवैधानिक इजलासमा पठाउने गरेको छ । सरकारले निर्माण गरिसकेको र उक्त निर्णय खारेजीको मागसहित मुद्दामा सर्वोच्चमा लामो समय बहस गर्दै अन्ततः सर्वोच्च अदालतमातहतको संवैधानिक इजलासमा पठाएको हो । 

मुद्दा संवैधानिक इजलासमा पठाइए पनि संवैधानिक इजलासले पेसी तोकेको छैन । सोमबार संवैधानिक इजलासले पक्ष र विपक्षलाई बोलाएको छ । संवैधानिक इजलासले सोमबारै पेसी तोक्नेछ । २०७४ माघ १७ गते परेको रिटमाथि छलफल गर्न १७औँपटक पेसी तोकेको थियो । 

गत वर्ष माघ ११ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले रुकुमकोटमा रहेको सदरमुकामलाई पृथा उत्तरगंगा गाउँपालिका १२ को गोलखाडामा सार्ने निर्णय गरेको थियो । त्यस निर्णय खारेजीको माग गर्दै अधिवक्ता गणेश हमाल, स्थानीय कृष्ण रेग्मी र दत्तबहादुर बस्नेतले गत वर्षको माघ १७ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए । 

सरकारले उक्त रिटमाथि छलफल गर्न पटक–पटक पेसी तोक्दै आएको थियो । सर्वोच्चले सोमबारको छलफलबाट सदरमुकाम विवादलाई फुकाउने विश्वास गरिएको थियो । सर्वोच्चले रुकुम (पूर्व)को सदरमुकामको विवादलाई पूर्ण इजलासका रूपमा आइतबारको दैनिक पेसीको पहिलो नम्बरमा राखेको थियो । 

रुकुम (पूर्व)मा विगत एक वर्षदेखि सदरमुकामको विवाद चर्किएको छ । सरकारले गोलखाडामा सदरमुकाम तोक्ने निर्णय गरेकै दिनदेखि रुकुमकोट र आसपासका नागरिक आन्दोलनमा छन् भने पछिल्लो चरणमा सरकारको निर्णय कार्यान्वयनको माग गर्दै गोलखाडावासी पनि आन्दोलनमा उत्रिएका छन्, जसका कारण अस्थायी सदरमुकाम रुकुमकोटमा एक हप्तादेखि अघिबाट गरिएको निषेधाज्ञा जारी छ ।
 
सदरमुकाम रुकुमकोट हुनुपर्ने र गोलखाडामा हुनुपर्ने मागसहित दुवैपक्ष आन्दोलनमा उत्रिएपछि जिल्ला प्रशासनले गत आइतबारदेखि रुकुमकोटमा निषेधाज्ञा जारी गरेको थियो । 



धेरैले सोमबारको छलफलबाट विवाद टुंगिने अनुमान गरेका थिए । सर्वोच्चले मुद्दा संवैधानिक इजलासमा पठाएपछि विवाद अझै लम्बिने भएको हो । एक वर्षसम्म सर्वोच्चमा विचाराधीन रहेको मुद्दा संवैधानिक इजलासमा पठाएपछि यस मुद्दाको छिट्टै छिनोफानो हुनेमा आशंका व्यक्त गरिएको छ ।



  • प्रकाशित मिति : माघ २८, २०७५ साेमबार १५:४१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया