वीरगन्जमा रचियो ‘सभ्य र भव्य’ कन्सर्टको इतिहास

अघिल्लो दिन मात्र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले एउटै मञ्चबाट ‘भोलिको कार्यक्रममा हुलदङ्गा हुन दिने छैनौँ’ भनेर आश्वस्त पारेका थिए । नभन्दै वीरगन्जमा संभवत पहिलो पटक हजारौँ दर्शकको उपस्थिति रहेको रक कन्सर्ट सभ्य र भव्य तवरबाट सम्पन्न भएको छ । यसरी ‘मानवताका लागि सङ्गीत’ अभियानका साथ देशभरको दौडाहामा निस्केको लोकरक ब्याण्ड नेपथ्यको दोस्रो कन्सर्टले साङ्गीतिक प्रस्तुतिका साथसाथै मुलुककै एक प्रमुख सहरमा नयाँ मानक स्थापित गरेको छ ।

नेपथ्य वीरगन्जमा यसअघि १८ वर्ष पहिले ‘शान्तिको लागि शिक्षा’ अभियान बोकेर उपस्थित भएको थियो । ‘यस पटक वीरगन्ज आउन हामीले झन्डै दुई दशक कुर्नुपर्‍यो,’ कार्यक्रमको सुरुदेखि अन्तिमसम्मै दर्शकहरूबाट अपार साथ पाएका गायक अमृत गुरुङ भनिरहेका थिए, ‘अब वीरगन्ज र नेपथ्यको भेट छिटो छिटो हुने विश्वास दिलाउँछु ।’ जवाफमा अघिल्तिर उफ्रिँदै गरेका दर्शकले लामो तालीका साथ उनको भनाइलाई स्वागत गरेका थिए ।

अघिल्लो कार्यक्रमजस्तै यस पटक पनि नेपथ्यले पहिलो गीत ‘भेडाको ऊनजस्तो’ प्रस्तुत गर्‍यो । रेकर्डमा भन्दा थोरै परिमार्जन गरिएको यस गीतको झलक पाउनासाथ ठूलो उत्साहका साथ भीड नाच्न सुरु गरेको थियो । दर्शकहरुबीच त्यो तीब्र तापक्रम कन्सर्टको अन्तिमसम्मै जारी देखिन्थ्यो । त्यसपछि क्रमशः ‘छेक्यो छेक्यो’, ‘लामपाते सुरती’, ‘चरि मर्‍यो’, ‘जोमसोमे बजारमा’ हुँदै ‘शिर फूल’ जस्ता गीतहरूले निरन्तरता पाए । अन्यत्रभन्दा अलिक बेग्लै वीरगन्जमा भने अधिकांश दर्शकले नेपथ्यका बहुसङ्ख्यक गीतमा गाएर साथ दिएको कमै देखिन्थ्यो । तर, सुरुदेखि अन्तिमसम्म रमाएर उफ्रिएको दृश्य चाहिँ अरू ठाउँभन्दा अझ रोचक थियो ।

कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानव सेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । ‘अर्को जुनी छ कि छैन थाहा छैन,’ उनी भनिरहेका थिए, ‘पुण्य कमाउने हो भने यसै जुनीमा र आजैबाट दान गर्न सुरु गरौँ ।’ त्यसैसरि नेपाल र नेपालीत्वको जगेर्ना गर्न युवा पुस्ता अगाडि आउनुपर्ने आव्हान पनि गरेका थिए ।

‘के पहाड, के हिमाल, के मधेस– सबैभन्दा पहिले हामी नेपाली हइइइ...,’ आव्हान गर्ने आफ्नै मौलिक आवाज र शैलीमा अमृतले भनेका थिए, ‘हामी को हौं भन्ने कसैले पनि कहिल्यै पनि नभुलौँ ।’ जवाफमा राष्ट्रिय झण्डा बोकेका तन्नेरीहरूको हुलले चर्को आवाजका साथ उनका भनाइलाई स्वागत गरेका थिए ।



मानव सेवा आश्रमका मन छुने तस्बिरहरू प्रस्तुत गर्दै ‘यो जिन्दगानी’ गाएपछि अमृतले आधुनिक नेपाली गायनका नायक नारायण गोपालको पनि सम्झना गरे । ‘आज मंसिर १९ अर्थात् नारायण दाइको पुण्य तिथि,’ उनले थपे, ‘नेपाली संगीतलाई असाध्यै धेरै गुन लगाउनुभएको उहाँको आत्माको शान्तिको कामना गर्छु ।’

कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो । यो गीत गाउन सुरुगरेपछि सिङ्गो मैदान नृत्य गर्नेहरूले उडाएको धुलोले भरिएको देखिन्थ्यो । त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृतले बोल्न पनि थाले: ‘तिमीले पाएको शिक्षा के देशभर सबैले पाए? के तिमी आफूले पाएको अधिकार प्रयोग गर्दा अरूका अधिकारहरू सुरक्षित भए ? के तिमीले उपभोग गरेकोजस्तै स्वास्थ्य सेवा देशका प्रत्येक नागरिकले उपभोग गर्न सक्ने अवस्था बनायौ ?’



धुनकै क्रममा गायकबाट आएको यो तिखो प्रश्नले अगाडि उफ्रिरहेका दर्शकलाई थप उत्तेजित बनाएको थियो । कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालिक हिट गीतहरू ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो ।

‘वीरगन्जमा आजसम्मै यति भव्य कार्यक्रम यस रूपमा सम्पन्न भएको मलाइ सम्झना छैन,’ कार्यक्रममा रमाइरहेका विनोद परियार भनिरहेका थिए, ‘यसले संगीतको माध्यमबाट मनोरञ्जन मात्र नभइ समाजमा हार्दिकता पनि बढाउन सकिन्छ भन्ने प्रमाणित गरेको छ ।’ उद्योग वाणिज्य संघका मधेस प्रदेश अध्यक्ष एवं लेखक गणेश लाठले नेपथ्यको कार्यक्रमबाटै यो सहरमा स्तरिय दर्शकको उदय भएको र त्यो निकै उत्साहजनक रहेको बताउँदै खुसी व्यक्त गरे ।  

मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । संगीतका साथै मानवता प्रवद्र्धनकालागि नेपथ्यको यो कन्सर्ट वीरगन्जमा चिताएको भन्दा बढी सफलताका साथ सम्पन्न भएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताएका छन् । यसका निम्ति उनले सबै सहयोगीलाई धन्यवाद व्यक्त गरे ।

‘वीरगन्जमा नेपथ्यको कन्सर्ट यति सभ्य र भव्य रूपमा सम्पन्न हुनुले दुई वटा सन्देश दिएको छ,’ अधिकारीले थपे, ‘यो सहर परोपकारीहरूको सहर हो र यहाँ सङ्गीत मन पराउने नयाँ पुस्ताको भव्य उदय भइरहेको छ ।’ वीरगन्जवासीको यो चाहनालाई आगामी दिनमा पनि मानव सेवा आश्रमले जिम्मेवारीका साथ पुरा गर्दै अघि बढ्ने विश्वास उनले दिलाए ।

वीरगन्जको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक र दुई वटा बस मार्फत् मंगलबार हेटौंडातर्फ प्रस्थान गरेको छ। मानव सेवा आश्रमकै आयोजनामा त्यहाँस्थित भुटनदेवी स्कुल मैदानमा नेपथ्य मंसिर २२ गते बिहीबार प्रस्तुत हुँदैछ । 

  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार १०:४२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया