काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र बागमती नदीको सफाइका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग प्रस्ताव गरेका छन् ।
ललितपुर महानगरपालिकाको १०४औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले यस्तो प्रस्ताव गरेका हुन् । यी दुवै काम काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका एक्लाएक्लैले गर्न नसक्ने भएकाले सहकार्य गरेर अघि बढ्न बालेनले प्रस्ताव गरेका हुन् ।
नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय र बागमती सफाइको काममा सहकार्य भएमा त्यो उपत्यकाको विकासका लागि नै राम्रो सन्देश हुने मेयर बालेनको भनाइ थियो । यसका लागि जग्गाको आवश्यक व्यवस्था भने ललितपुर महानगरपालिकाले गर्नुपर्ने उनको प्रस्ताव छ ।
नेवाः सम्बन्धी विश्वविद्यालयले यहाँको कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्न र यसलाई अन्तर्राष्ट्रियकरण गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।
प्राचीन ढुंगेधाराको संरक्षणमा ललितपुर महानगरपालिकाले अघि सारेको अवधारणाबाट सिकेर आफूहरुले पनि सो कामलाई अघि बढाउन पुल्चोक इन्जिनियरिङ कलेजसँग सहकार्य गरेर अघि बढ्न लागेको बालेनले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।