नेपाली कांग्रेसले आज संसदीय दलको नेताका लागि निर्वाचन गर्दैछ । जसका लागि कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदैछ ।
संसदीय दल नेताका लागि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा उम्मेदवार रहेका छन् । संस्थापन पक्षबाट देउवा र संस्थापनइतर समूहबाट थापा उम्मेदवारी बनेका हुन् । चुनावमा देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र थापाको प्रस्तावकमा डा. शेखर कोइराला रहेका छन् ।
त्यस्तै, देउवाको समर्थकमा पूर्णबहादुर खड्का र थापाको समर्थकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल रहेका छन् । दलको नेता चयन हुनका लागि ५१ प्रतिशत अर्थात् ४५ मत ल्याउनुपर्ने हुन्छ ।
४ मंसिरको निर्वाचनबाट कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ गरी कुल ८९ सिट जितेको छ । संसदीय दलको निर्वाचनमा तिनै ८९ जना सांसदले मत दिन पाउनेछन् ।
तीमध्ये ५० जनाभन्दा बढी सांसद संस्थापन पक्षका रहेको बताइएको छ । त्यस हिसाबले संसदीय दलमा देउवाले बहुमत ल्याउने सम्भावना बलियो रहेको कांग्रेस नेताहरू बताउँछन् ।
देउवा पक्षका एक सांसदका अनुसार हालसम्म संस्थापन पक्षमा कुल ५६ सांसद खुलिसकेका छन् । यस्तो अवस्थामा संस्थापनइतर पक्षमा ३३ सांसद हुने देखिन्छन् ।
यद्यपि कोइराला–थापा पक्षका नेताहरूले भने आफूहरूको पक्षमा ४० सांसद रहेको दाबी गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।