जसपा नेपालले मधेस प्रदेशको संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्दै

जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेशको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुन लागेको छ । मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने अधिकांश दलले संसदीय दलको नेता चयन गरिसकेपनि जसपाले भने दलको नेता चयन गर्न सकेको छैन् । दलको नेता चयनका लागि आज मतदान हुने गरी कार्यतालिका तय गरिएको छ ।

जसपाले आज बिहान ११ बजेसम्म दलको नेताका लागि उम्मेदवारहरुको मननोयन पत्र दर्ता गर्ने समय तोकेको छ । यस्तै, ११:३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, ३:३० बजेसम्म नाम फिर्ता लिने र ४ बजेसम्म दाबीविरोधका लागि समय निर्धारण गरिएको छ ।

दिउँसो ४:३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र साँझ ५ देखि ६ बजेसम्म मतदान गर्ने कार्यतालिका छ । मतदान सम्पन्न भएलगत्तै मतगणना गरेर परिणाम सार्वजनिक गरिने जसपा संसदीय दलको निर्वाचन समितिका संयोजक लालकिशोर साहले जानकारी दिए ।

जसपा मधेस प्रदेशसभाको संसदीय दलको नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, सरोज यादव र नेता रामअशिष यादव प्रमुख दाबेदार छन् । राउतको नाममा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत् दलको नेता चयन गर्न लागिएको हो । पार्टी अध्यक्ष उपेन्द्र यादवले दलको नेता चयन गर्न नसकेपछि सो विषयमा निर्णय गर्न पुनः प्रदेश कमिटीलाई नै जिम्मा लगाएका थिए ।

गत बिहीबार र शुक्रबार जनकपुरधाममा बसेको प्रदेशसभा सदस्यहरूको बैठकमा दलको नेतामा सहमति नजुटेपछि सो अधिकार पार्टी अध्यक्ष यादवलाई दिइएको थियो । तर, पार्टीमा दलको नेता बन्न आकांक्षीहरू बढी भएपछि पार्टी अध्यक्ष यादवले फेरि पार्टीको प्रदेश कमिटीलाई नै जिम्मेवारी दिएका थिए ।

मधेस प्रदेशसभामा जनता समाजवादी पार्टीका १६ जना प्रदेशसभा सदस्य छन् । 





  • प्रकाशित मिति : पुस २५, २०७९ साेमबार ११:१७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया