नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले दलहरूबाटै सक्षम व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताएका छन् । संवैधानिक पदहरूमा स्वतन्त्र व्यक्तिलाई ल्याउनुपर्छ भन्ने कुरा अव्यावहारिक रहेको उनकाे धारणा छ ।
बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले दलभन्दा बाहिरबाट ल्याएर संवैधानिक पद सुम्पिने कुरा उचित नभएको बताए ।
नेम्वाङले आफूलाई राष्ट्रपतिमा ठूलो आकांक्षा नभएको बताए । पार्टीले जसलाई राष्ट्रपतिको उम्मेदवार चुन्छ उही राष्ट्रपति हुने भन्दै उनले आफ्नो ठूलो आकांक्षा नभएको बताएका हुन् ।
राष्ट्रपतिको पदावधि फागुनमा सकिँदै छ । राष्ट्रपतिको पदावधि सकिनुभन्दा एक महिनाअघि नै नयाँ राष्ट्रपतिका लागि निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
सत्ता गठबन्धनको भागबण्डामा सभामुख र राष्ट्रपति एमालेको भागमा परेको छ । एमालेबाट राष्ट्रपतिको उम्मेदवारमा नेम्वाङको नाम अग्रपंक्तिमा छ । यद्यपि, पार्टी अध्यक्ष केपी शर्मा ओलीले बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डाेरमणि पाैडेललाई राष्ट्रपति बनाउन चाहेकाे बताइएकाे छ ।
यता, प्रतिपक्षी दल नेपाली कांग्रेस पनि राष्ट्रपतिमा आफ्नाे उम्मेदवार जिताउन प्रयासरत छ । साेही प्रयासस्वरूप कांग्रेसले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासकाे मत दिएकाे थियाे ।
कांग्रेसबाट राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पाैडेलकाे नाम अग्रपंक्तिमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।