मधेस प्रदेशका नवनियुक्त अर्थमन्त्री संजय यादवले गरे पदभार ग्रहण
राजश्व बृद्धिका लागि कार्ययोजना बनाएर अगाडि बढ्न निर्देशन

मधेस प्रदेश सरकारका नवनियुक्त अर्थमन्त्री संजय यादवले पदभार ग्रहण गरेका छन् । बिहिबार जिम्मेवारी सहितको पत्र प्राप्त गरेका मन्त्री यादवले आइतबार दिउँसो पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहण गर्दै अर्थमन्त्री यादवले प्रदेश सरकारको राजश्वलाई बृद्धि गर्नका लागि कार्ययोजना बनाएर अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिएका छन् । 

उनले बजेटमा भएका प्रावधान अनुसार चालू खर्चलाई मितव्ययी बनाउँदै कटौती गर्ने र पूँजिगत खर्चलाई अभिवृद्धि गर्ने सम्बन्धमा पनि कार्ययोजना बनाउन निर्देशन दिएको अर्थसचिव गजेन्द्र ठाकुरले बताए । 

यसअघि नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले शुक्रबार नै पदभार ग्रहण गरिसकेका छन् । गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका सरोजकुमार यादवले पुस २९ गते विनाविभागीय मन्त्रीहरूसँगै शपथ लिएका थिए ।

मुख्यमन्त्री यादवले माघ १२ गते विनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकेका थिए । मुख्यमन्त्री यादवले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका बसन्त कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र जनता समाजवादी पार्टी नेपालका संजय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

मुख्यमन्त्री यादवले प्रदेशका बाँकी सात मन्त्रालय भने हाल आफैँसँग राखेका छन् । मधेस प्रदेशको सत्ता साझेदार दलहरूबीच मन्त्रालयको भागबण्डामा औपचारिक सहमति जुट्न नसक्दा सरकारले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री यादवले सम्भवतः सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने स्रोतले जनाएको छ । 





  • प्रकाशित मिति : माघ १५, २०७९ आइतबार १५:२३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया