logo-img

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरिएको ‘ताम्रपत्र’ फिर्ता
रोशन दासको बदमासीका कारण ‘ताम्रपत्र’ फिर्ता गरिएको आरोप

अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरिएको ‘ताम्रपत्र’ फिर्ता भएको छ । ताम्रपत्र’ फिर्ता हुनुमा आफूलाई जानकी मन्दिरको उत्तराधिकारी महन्थ बताउने रामरोशन दासको बदमासी मुख्य कारण रहेको जानकी मन्दिरका मुख्य पूजारी मनोजकुमार झाको आरोप छ । 
 
नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरेर भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरिएको दुई विशाल देवशीलासँगै प्रदान गरिएको ‘ताम्रपत्र’ दासका कारण फिर्ता गरिएको हो । 

गत बुधबार राति भारतको उत्तर प्रदेशस्थित अयोध्या पुर्याएर बिहीबार श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरिएको देवशीलासँगै जानकी मन्दिरको तर्फबाट ताम्रपत्र पनि प्रदान गरिएको थियो । 

तर, सो ‘ताम्रपत्र’ जानकी मन्दिरको तर्फबाट श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई प्रदान गरिएको भनिए पनि जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवलाई जानकारी नै नदिई आफूलाई मन्दिरको उत्तराधिकारी महन्थ बताउने रामरोशनले प्रदान गरेको बताइएको छ । पछि सो ताम्रपत्र श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले अस्वीकार गर्दै जानकी मन्दिरलाई फिर्ता गरेको हो ।  



सो ताम्रपत्रमा रामरोशन दासले जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवसँगै आफ्नो नाम पनि लेखेर श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरेको जानकी मन्दिरका मुख्य पूजारी मनोजकुमार झाले बताए । 

रोशन दासले आफ्नो इच्छाले सो ताम्रपत्र ट्रस्टलाई प्रदान गरेको र त्यसमा मुख्य व्यक्तिको मात्रै नाम हुनुपर्नेमा उनले आफ्नो नाम पनि लेखेकोले अस्वीकार गर्दै फिर्ता गरिएको झाले बताए । 



‘जहाँ मान महन्थको नाम छ, त्यहाँ उत्तराधिकारीको नाम लेख्नुपर्ने कुनै आवश्यकता नै छैन,‘ उनले भने,‘पूर्वयोजनाविना नै रामरोशनले आफ्नो इच्छाले ताम्रपत्र हस्तान्तरण गरेका थिए ।’उनले रोशनले जानकी मन्दिरलाई जानकारी नै नदिएर श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई ताम्रपत्र दिन खोजेकोसमेत बताए ।
 
यस्तो ऐतिहासक कामका लागि रोशनले मान महन्थसँग समन्वय गरेर काम गर्नुपर्नेमा उनलाई कुनै जानकारी नै नदिई आफूअनुकूल मनोमानी तरिकाले काम गरेको उनको आरोप छ । 

अयोध्यामा निर्माणाधीन राममन्दिरमा भगवान् रामको मूर्ति बनाउन कालीगण्डकी नदीबाट उत्खनन गरिएको उक्त देवशीला अयोध्या पुर्याइएपछि विशेष समारोहकाबीच माघ १९ गते श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरिएको थियो ।
 
यता, यस सम्बन्धमा आफूलाई कुनै जानकारी नरहेको उत्तराधिकारी महन्थ बताउने रामरोशन दासले बताए । उनले देवशीलासँगै आफूले ताम्रपत्र पनि हस्तान्तरण गरेर तुरुन्तै त्यहाँबाट फर्केकोले आफूलाई ताम्रपत्र फिर्ता भएकोबारे कुनै जानकारी नरहेको बताए ।



  • प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार २०:५१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया