logo-img

गाउँपालिका अध्यक्षले कर्मचारीमाथि हातपात गरे

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले कर्मचारीमाथि हातपात गरेको आरोप लगाइएको छ । 

अध्यक्ष यादवले सोही गाउँपालिकामा कार्यरत अधिकृत छैटाैँ तहका कर्मचारी श्रवण कुमार यादव र सहायक आन्तरिक लेखा परीक्षक नवीनकुमार साहमाथि हातपात गरेको आरोप लगाइएको हो । 

कर्मचारीद्वय साह र यादवले आफूहरुलाई विगत एक महिनादेखि गाउँपालिकाको कार्यालयमा हाजिरी गर्न नदिई अध्यक्ष यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामपुकार दासले मनोमानी गर्दै आएको आरोप लगाएका छन् । 



लेखा परीक्षक साहले बुधबार गाउँपालिका अध्यक्ष यादवसहित निमित्त प्रमुख प्रशासकीय दास र एकजना कार्यपालिका सदस्यका पति लक्ष्मी यादव तथा अध्यक्ष यादवका बाउन्सर बहेरा बेला बस्ने भरत महतोले आफूहरुमाथि कुटपिट गरेको आरोप लगाएका छन् । 

गाउँपालिका अध्यक्ष यादवले मनोमानी तरिकाले कार्यालयको हाजिरी रजिष्टर आफ्नो कार्यकक्षमा राखेको र उनको अघिपछि गर्ने कर्मचारीलाई मात्रै हाजिरी गर्न दिएको साहको आरोप छ । उनले बुधबार आफूहरु हाजिरी गर्न जाँदा हाजिरी गर्न नदिएर उल्टै आफूहरुमाथि हातपात गरेको दुःखेसो सुनाए । 

अधिकृत यादव सो गाउँपालिकामा विगत १ वर्षदेखि र लेखा परीक्षक साह विगत ४ महिनादेखि कार्यरत रहेका छन् । उनीहरुले आफूहरुलाई अध्यक्ष यादवले काम नै गर्न नदिएको गुनासोसमेत सुनाएका छन् । 



कर्मचारीको कुनै किसिमको गल्ती कमजोरी नहुँदा पनि गरिएको यस्तो आक्रमण सम्पूर्ण राष्ट्र सेवक कर्मचारीमाथिको आक्रमण भएको साहले बताए । अध्यक्ष यादवलगायतका समूहले विना कुनै वादविवाद एक्कासि कुटपिट गरेको उनको गुनासो छ । 

घटना सम्बन्धमा बुझ्नका लागि अध्यक्ष यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत दासको मोबाइलमा सम्पर्क गर्दा स्विच अफ थियो ।



  • प्रकाशित मिति : माघ २५, २०७९ बुधबार १७:२६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया