राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेेखि आचारसंहिता लागू

यही २५ फागुनमा हुने राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । 

निर्वाचन आयोगका अनुसार राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि आगामी ५ चैतसम्म आचारसंहिता लागू भएको हो । 

राष्ट्रपति निर्वाचनका लागि आठ दलीय सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।

राष्ट्रपति चुनिएपछि मात्र उपराष्ट्रपति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने छ । त्यसैले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लाग्न बाँकी छ । 

क–कसलाई लाग्छ आचारसंहिता? 

आयोगका अनुसार राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता नेपाल सरकार, प्रधानमन्त्री र मन्त्री, प्रदेश सरकार, मुख्यमन्त्री र मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई लाग्ने छ ।



त्यस्तै, राजनीतिक दल र तिनका भ्रातृ संगठन, उम्मेदवार र उम्मेदवारका प्रतिनिधि, मतदान र मतगणनास्थलमा खटिने उम्मेदवारका प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, तिनका कर्मचारी र पत्रकार तथा मतदातालाई पनि आचारसंहिता लागू हुनेछ ।

आयोगले निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्न सबैलाई आग्रह गरेको छ ।



आचारसंहिता अन्तर्गत मतदानको ४८ घण्टाअघिदेखि सभा, जुलुस, नाराबाजीलगायत प्रचारप्रसार गर्न नपाउने व्यवस्था छ । साउन्ड सिस्टम, एसएमएस, सामाजिक सञ्जाल तथा अन्य कुनै साधन प्रयोग गर्न नपाउने भनिएको छ । बाजा, सार्वजनिक भोज, हुलहुज्जत गर्न नपाइने, हातहतियार लिएर हिँड्न नपाइने व्यवस्था आचारसंहितामा छ । मादक पदार्थ पनि निषेध गरिएको छ । 

राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारलाई निर्वाचन खर्चको सीमा अधिकतम ४ लाख रुपैयाँ तोकिएको छ । निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेश सभाका ५५० जना गरी ८८२ जना मतदाता रहन्छन् । 

  • प्रकाशित मिति : फागुन १७, २०७९ बुधबार ७:९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया