‘पत्रकार बिक्री’को आरोप पुष्टि गर्न सभामुखलाई महासंघको चुनौती

नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुक्रबार दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । 

शनिबार महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै सभामुखको अभिव्यक्तिले समग्र सञ्चारक्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको जनाउँदै आरोप पुष्टि गर्न आग्रह गरेका छन् ।

शुक्रबार नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डल बधाई ज्ञापन र संघीय संसद्ले बनाउने सञ्चारक्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न नवनिर्वाचित देवराज घिमिरेललाई भेट्न गएको बेला सभामुख घिमिरेले ‘पत्रकारहरू र संघ बिक्रीमा रहेको’भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । 

‘सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरीत सञ्चारक्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् छ’ महासचिव पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महासंघ जननिर्वाचित संसद् र त्यसको नेतृत्व नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पूर्ण प्रतिबद्ध भएको व्यवहारमा देख्न चाहन्छ । साथै आफ्ना आरोपहरू पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिई सञ्चारक्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्धता जनाउन सभामुखसमक्ष महासंघ आग्रह गर्दछ ।’

सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको, तर सचिवालयबाट सामान्य प्रस्टीकरणबाहेक आधिकारिक धारणा नआएको पनि महासचिव पुरीको भनाइ छ ।





  • प्रकाशित मिति : चैत ४, २०७९ शनिबार १६:१९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया