तनहुँको बन्दीपुर अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्स–रे मेसिन लामो समयदेखि प्रयोगविहीन बनेको छ ।
अघिल्ला जनप्रतिनिधिको कार्यकालमा खरिद गरेको उक्त मेसिन अहिले जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्ष बित्न लाग्दा पनि सञ्चालनमा ल्याउन सकिएको छैन ।
तीन/चार वर्षदेखि एक्स–रे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राहीले सेवा लिनबाट वञ्चित हुनु परेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । स्वास्थ्य मन्त्रलालयबाट रेडियोग्राफीका लागि पटकपटक अनुरोध गरे पनि व्यवस्था हुन नसकेको उनले बताए ।
‘आगामी वर्षदेखि सञ्चालनमा ल्याई सेवा प्रवाह गर्ने योजना बनाएका छौँ,’ उनले भने, ‘जनशक्तिको अभावमा नागरिकलाई भिडियो एक्स–रे सेवा दिन नसक्दा कठिनाइ भोग्नुपरेको छ ।’
उक्त अस्पताल १५ शय्या क्षमताको छ । अस्पतालबाट आँखा, प्रसूति, दाँत, ल्याब, फार्मेसीलगायतका सेवा प्रवाह गरिएको छ । एमबिबिएस डाक्टर दुई, हेल्थ असिस्टेन्ट चार, स्टाफ नर्स तीन, ल्याब तीन, फार्मेसी दुई, प्रशासन दुई र एक्स-रेमा एक गरी ४४ जना जनशक्ति छन् ।
उक्त अस्पतालमा दैनिक ७० देखि एक सयको हाराहारीमा बिरामीहरू उपचारका लागि आउने गरेको अस्पतालका चिकित्सक आशीष अधिकारीले जानकारी दिए । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।