कोरोनाको नयाँ भेरियन्ट कम घातक, बढी संक्रामक

नेपालमा पहिलोपटक देखापरेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सबिबी १.१६’ बढी संक्रामक रहेको पाइएको छ । चिकित्सकका अनुसार नयाँ भेरियन्ट तुलनात्मक रुपमा कम घातक र बढी संक्रामक छ । 

इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाका निमित्त निर्देशक डा. हेमन्त ओझाले नयाँ भेरियन्टले दीर्घरोगी, रोगसँग लड्न क्षमता कम भएका मानिस, वृद्धावृद्धलाई बढी समस्या गराउन सक्ने बताए । 

भारतमा देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबिबी १.१६ नेपालमा पनि अनुवांशिक अध्ययन गर्दा १० वटा देखिएको उनको भनाइ छ । ‘भारतमा देखिएअनुसार नयाँ भेरियन्टका कारण धेरै संक्रमितलाई गम्भीर बनाएको देखिँदैन र अधिकांश अस्पताल भर्ना नभएको पाइएको छ,’ उनले भने । 

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. मनीषा रावलले नयाँ देखिएको ओमिक्रोनको भेरियन्ट घातकभन्दा पनि बढी मानिसलाई सार्ने बताउँछन् । ‘यो डेल्टा भेरियन्टभन्दा कम घातक छ,’ उनले भने, ‘नयाँ भेरियन्टले मानिसमा भने चाँडै फैलिन सक्छ ।’ उनले छिटो फैलिने भएकाले सर्तकता अपनाउन आग्रह गरे ।  

नयाँ भेरियन्टबाट संक्रमितमध्ये हालसम्म चारजना अस्पतालमा भर्ना भएको उनले बताए । जसमध्ये तीनजना घर फर्किसकेको तथा एकजना उपचाररत रहेको उनको भनाइ छ । 

नयाँ भेरियन्ट ओमिक्रोन एक्सबिबी १.१६ संक्रमण हुँदा रुघा लाग्ने, ज्वरो आउने, घाँटी खसखस हुने, जिउ दुख्ने, खाना नरुच्नेजस्ता लक्षण देखिन्छन् ।





  • प्रकाशित मिति : चैत २२, २०७९ बुधबार २२:११:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया