logo-img

प्रधानमन्त्री दाहाललाई लोकतान्त्रिक मधेसी मोर्चाकाे ज्ञापनपत्र

लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएको छ ।
 
मधेस केन्द्रित साना दलहरू तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले आपसी सहकार्य गर्दै गठन गरेको लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । 

मोर्चाले विभिन्न ११ सूत्रिय मागसहित जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीलाई ज्ञापनपत्र बुझाएका छन् । 

लोकतान्त्रिक मधेसी मोर्चाले बुझाएको ज्ञापनपत्रमा मुलुकमा विधिको शासन र लोकतान्त्रिक अभ्यासको पूर्ण पालना हुनुपर्ने माग गरिएको छ । मधेस, थरुहट, आदिवासी जनजाति, मुस्लिम, दलित, पिछडावर्गको मागको सम्बोधन र स्थानीय तथा प्रादेशिक तहको प्रतिनिधित्व गर्ने संघीय संसदको सदन राष्ट्रियसभामा जनसंख्यामा आधारित प्रतिनिधित्व तथा संघीय संसदीय अभ्यासमा राष्ट्रियसभाको समान भूमिका लगायतका विषयमा त्रुटिहरु सुधार्न संविधानको संशोधन गर्नुपर्ने मागसमेत गरिएको छ । 



राज्यका हरेक अंगमा समानुपातिक समावेशिता लागू गर्नुपर्ने, निर्वाचन प्रणालीमा देखिएका पैसा, बाहुबल, जातिवादबाट मुक्ति र सबै समुदाय तथा क्षेत्रबाट जनताको सही प्रतिनिधित्वको चयन सुनिश्चित गर्न पूर्ण समुपातिक निर्वाचन पद्धति लागू गर्नुपर्ने, स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गरिने व्यवस्था हुनुपर्ने, नागरिकता विधेयक, २०७९ कानून बनेको घोषित गर्नुपर्नेलगायतका मागसमेत मोर्चाले गरेको छ ।  

साथै लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी मधेस, थरुहट आन्दोलनको क्रममा लगाइएका झूठा मुद्दाहरू खारेज गर्नुपर्ने, नेपाल–भारत सीमा क्षेत्रमा घरायसी प्रयोगको निमित्त गृहस्थीका सामानहरु, खेतीमा प्रयोग गरिने मल–खाद तथा बिउ–बीजन अथवा व्यक्तिगत र विवाह–व्रतवन्धको प्रयोजनको निमित्त लत्ता–कपडा लगायत वन्दोवस्तीका सामानहरु ल्याउन लैजान सवारी साधन बाधित गर्ने, नागरिकसँग दुर्व्यवहार गर्ने जस्ता कार्यहरु तत्काल बन्द हुनुपर्ने, कृषि क्षेत्रमा प्रतिफलमूलक सुधारको निमित्त आधुनिकीकरण र तकनीकी ज्ञानको साथै समयमै मल–खाद, बीउ–बीजनको आपूर्तिको सुनिश्चितता गर्नुपर्ने मागसमेत ज्ञापनपत्रमा समेटिएको छ । 
 
मोर्चाले युवा श्रमशक्तिलाई स्वदेशमै रोजगारको व्यवस्था हुनुपर्ने र भ्रष्टाचार नियन्त्रणका लागि कारगार अभियान चलाउनसमेत सरकारसँग माग गरेको छ । 

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवमार्फत प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेपनि मुख्यमन्त्री यादवले समय उपलब्ध नगराएको गुनासो गरे । 



उनले राष्ट्रपतिले नै संविधानको उल्लंघन गरिरहेकोले लोकतन्त्रमाथि खतरा रहेकोसमेत आरोप लगाएका छन् । 
ज्ञापनपत्र बुझाउनु अघि लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ताहरु स्थानीय जनकचोकबाट नारा जुलुससहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।



  • प्रकाशित मिति : चैत २३, २०७९ बिहीबार १९:१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया